जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदीले साथीको हत्या गरेको खुलेको छ । एक व्यक्तिको ज्यान जाने गरी ठमेलस्थित ह्याप्पी होटल अगाडि असोज १३ गतेराति भएको घटनामा जेनजी आन्दोलनका क्रममा भागेका आकाश मगरको संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मकवानपुरका २५ वर्षीय सुरज तामाङको मृत्यु भएको थियो । आकाशको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल वीर अस्पताल पुर्याएपनि सोही रात मृत्यु भएको थियो ।
घटनापछिको अनुसन्धानमा प्रहरीले आकाश मगर प्रमुख आरोपि रहेको देखिएको र उनी नख्खु कारागारबाट फरार कैदी रहेको बताएको छ । सोह्रखुट्टे प्रहरी वृत्तका अनुसार आकाश मगर चोरी र डकैती मुद्दामा सजाय भुक्तान गरिरहेका थिए । हत्या पश्चात् उनी भारततर्फ भागेको अनुमान प्रहरीको छ ।
गत भदौं २४ गतेको ठूलो जेल दङ्गामा देशभरका १४ हजार ५ सयभन्दा बढी कैदीहरू भागेका थिए, जसमा हत्या, डकैती र हिंसात्मक अपराधका दोषीहरू पनि छन्। तीमध्ये अझै ५ हजार ५ सयभन्दा बढी कैदी फरार छन्, जसले देशभर असुरक्षाको वातावरण सिर्जना गरेका छन्।
ठमेलको यो हत्या प्रकरण एक्लो उदाहरण होइन। प्रहरीका अनुसार, भागेका कैदीहरू पछिल्ला केही दिनयता देशका विभिन्न स्थानमा हिंसात्मक घटनामा संलग्न भइरहेका छन्। जेलबाट भागेका सन्तबहादुर तामाङले श्रीमती मनिषाको हत्या गरे भने तुलसीपुर जेलबाट भागेका खिमबहादुर बिकले ५३ वर्षीय पुरुषमाथि धारिलो हतियार प्रहार गरेका थिए ।
प्रकाशित: २४ आश्विन २०८२ १५:५७ शुक्रबार





