राप्तीसोनारी गाउँपालिका–५ उर्लिहवाको एउटा सामान्य साँझ एक युवतीको जीवनका लागि सबैभन्दा डरावनी घडी बन्न पुग्यो । बाहिर साँझको अँध्यारो घनीभूत हुँदै थियो । गाउँ शान्त देखिन्थ्यो । घरभित्र १८ वर्षीया किशोरी आफ्नो कोठामा सुतिरहेकी थिइन् । विद्यालयको गृहकार्य सकाएर उनी सुस्ताइरहेकी थिइन् । केही क्षणपछि उनी निन्द्रामा गइसकेकी थिइन् । तर त्यो निद्राले उनलाई शान्ति होइन, पीडा र भयको संसारमा पुर्यायो ।
एक्कासी घरको ढोका खोल्ने आवाज आयो । उनी केही बुझ्न नपाउँदै कोठाभित्र एकजना घुस्छन् । अनि, जबरजस्ती करणी गर्छन् । अँध्यारो रात, गाउँको शान्त वातावरण र एउटा निर्दोष किशोरी सबै भयावह दृश्यमा परिणत हुन्छ । त्यो बेला न उनको प्रतिरोधको आवाज सुनिन्छ, न सहायताको चिच्याहट । छोरीको कोठाबाट आएको अस्वाभाविक आवाज सुनेपछि उनका बुवाका आँखा उत्तै सोझिन्छ । उनले त्यहाँ देख्छन्, नचिताएको दृश्य । त्यो दृश्य देखेपछि उनी स्तब्ध हुन्छन् । आक्रोश, पीडा र छोरीप्रतिको असहायता मिसिएको क्षण थियो त्यो । बुवाले तत्कालै प्रहरीलाई खबर गर्छन् । केही बेरमै प्रहरी गाउँमा पुग्छ र आरोपित ३० वर्षीय प्रेम थारुलाई नियन्त्रणमा लिन्छ । प्रेम विवाहित पुरुष थिए । गाउँकै व्यक्ति, छिमेकी, परिचित त्यो विश्वासको बन्धन नै अपराधको कारण बनेको देखिन्छ ।
पीडित किशोरी कक्षा ९ मा अध्ययन गर्छिन् । विद्यालयमा उनी मिलनसार र हसमुख छिन् । तर अब उनको अनुहारमा त्यो सहज हाँसो हराइसकेको छ । उर्लिहवा जस्तो गाउँमा यस्ता घटनाबारे खुल्न अझै गाह्रो मानिन्छ । समाजले पीडितलाई सान्त्वना दिनु त परै जाओस्, बरु दोष दिन्छ । ‘लोग्ने मानिसले गरेको गल्ती पनि समाजले केटीतिरै हेर्छ,’ गाउँकी एक महिला भन्छिन्, ‘अनि त्यही डरले धेरैजसोले प्रहरीमा उजुरी गर्नै डराउँछन् ।’ तर यसपटक पीडितका बुवाले मौनता तोडे । उनले तत्कालै प्रहरीमा उजुरी दिए । ईलाका प्रहरी कार्यालय बैजापुरका प्रमुखले बताएअनुसार, ‘घटनाको जानकारी पाएलगत्तै प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । अहिले थप अनुसन्धान भइरहेको छ ।’ प्रहरीका अनुसार प्रारम्भिक विवरणले बलात्कार पुष्टि गर्ने संकेत देखाएको छ । तर, अनुसन्धान बाँकी रहेका बलात्कार पुष्टि भइसकेको छैन ।
यस्ता घटनाहरू बारम्बार भइरहेका छन् । तर हरेकपटक पीडितको कथा सुन्ने कोही हुँदैन । कानुनी प्रक्रिया लामो र पीडादायी हुन्छ । अदालत पुग्दा सामाजिक दबाब, आर्थिक समस्या र मानसिक यातनाले पीडितहरू न्यायको बाटोमै थकित हुन्छन् । मानवअधिकारकर्मीहरू भन्छन्, ‘घरमै असुरक्षित हुने अवस्था अत्यन्त चिन्ताजनक हो । परिवारभित्र, छिमेकमा वा आफन्तबाट हुने यस्ता घटनाले हाम्रो सामाजिक संरचना नै प्रश्नमा पार्छ ।’
उर्लिहवाको यो घटना कुनै एक घरको पीडा मात्रै होइन । यो गाउँका, जिल्ला र देशभरिका हजारौँ किशोरीहरूको साझा डर हो । उनीहरू राति ढोका बन्द गरेर सुत्दा पनि असुरक्षित महसुस गर्छन् । कहिलेकाहिँ आफ्नै घर, जहाँ सुरक्षित महसुस गर्नुपर्ने थियो, त्यही भयको स्थल बन्छ । सामाजिक मनोवैज्ञानिकहरूका अनुसार यस्ता घटनाले किशोरीको मानसिक विकासमा गहिरो प्रभाव पार्छ । उनीहरू आत्मविश्वास गुमाउँछन्, समाजसँग घुलमिल हुन सक्दैनन्, र कहिलेकाहिँ पढाइ नै छोड्ने अवस्थामा पुग्छन् ।
आज त्यो किशोरीको परिवार पीडामा छ । उनका बुवाको अनुहारमा क्रोधभन्दा बढी बेहोसपन देखिन्छ । उनले प्रहरीलाई भनेका थिए, ‘छोरीको सुरक्षित भविष्यका लागि म न्याय चाहन्छु ।’ त्यो न्याय केवल अदालतको फैसला होइन, समाजको चेतना पनि हो । राप्तीसोनारीका गाउँहरू अहिले यो घटनाले स्तब्ध छन् ।
प्रकाशित: २३ आश्विन २०८२ १७:५१ बिहीबार





