भारतको विहार पटनास्थित चर्चित युट्युबर एवं शिक्षक ‘खान सर’ को कोचिङ सेन्टरमा आक्रमण तथा तोडफोड गरी फरार एक प्रतिवादी विराटनगरमा शंकास्पद अवस्थामा मृत भेटिएका छन्।
पटनाको प्रसिद्ध ‘ज्ञान बिन्दु जिएस एकेडेमी’ का निर्देशक रोशन आनन्दका भाइ समेत रहेका प्रिन्स कुमार विराटनगरस्थित एक होटलमा मृत भेटिएका हुन्।
मोरङ प्रहरी प्रमुख एसपी कबित कटवालका अनुसार भारत विहार, सहरसा जिल्लाको धामसेना–२ घर भएका २४ वर्षीय प्रिन्स शनिबार राति विराटनगर–१० स्थित शुभ होटलमा मृत भेटिएका हुन्।
सो घटनापछि प्रहरीले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिएको छ।
होटलको कोठामा बसिरहेका उनी शनिबार राति ११ बजेतिर अचानक बिरामी परेपछि विराटनगरकै न्युरो अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
एसपी कटवालका अनुसार मृतकको कन्चटमा सानो चोट देखिएको छ। प्रिन्सको मृत्युलाई शंकास्पद मान्दै मोरङ प्रहरीले उनीसँगै होटलमा बसिरहेका चार भारतीय र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइनेहरूमा भारत विहार सहरसाका २५ वर्षीय अंकितकुमार यादव, सुपौलका २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादव रहेका छन्।
यस्तै, उनीहरूलाई सघाउने सप्तरीको हनुमान नगरपालिका–१४ का ३० वर्षीय तीर्थकुमार यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ।
‘हामीले घटनाको विभिन्न तवरबाट सुक्ष्म अनुसन्धान थालेका छौं,’ एसपी कटवालले भने, ‘मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण र समय स्पष्ट हुन्छ।’
किन नेपाल आएका थिए प्रिन्स ?
प्रारम्भिक अनुसन्धानका अनुसार प्रिन्स भारतको पटनामा भएको एक आपराधिक घटनाका फरार प्रतिवादी हुन्। पटनाका दुई ठूला शैक्षिक संस्था ज्ञान बिन्दु जिएस एकेडेमी र खान ग्लोबल स्टडिज (खान सरको एकेडेमी) बीच चलेको विवाद र आक्रमणपछि उनी नेपाल पसेका थिए।
गत जुन २ मा प्रिन्सको नेतृत्वमा १५/२० जनाको समूहले पटनाको मुसल्लहपुर हाट क्षेत्रमा रहेको खान सरको एकेडेमीमा आक्रमण र तोडफोड गरेको थियो।
सो क्रममा सुरक्षागार्ड चुनचुनलाई मरणासन्न हुने गरी कुटपिट गरिएको थियो भने संस्थाका साइनबोर्ड र तस्बिरहरू च्यातिएको थियो।
आक्रमणकारीले दुई दिनभित्र संस्था बमले उडाइदिने धम्की समेत दिएका थिए। उक्त घटनामा ज्यान मार्ने उद्योग, दङ्गा फसाद, आपराधिक धम्की र षड्यन्त्र लगायतका विभिन्न गम्भीर मुद्दामा भारतीय प्रहरीले प्रिन्सविरुद्ध ‘एफआईआर’ दर्ता गरेको थियो।
पक्राउ पर्ने डरले प्रिन्स आफ्ना साथीहरूसँगै जेठ २० गते नै विराटनगर आएका थिए। सुरुमा उनीहरू बसपार्क नजिकैको मेट्रोसिटी होटल मा दुई दिन बसेका थिए र त्यसपछि शुभ होटलमा सरेका थिए।
यस प्रकरणको जरा पटनाको चर्चित ‘कोचिङ वार’ सँग जोडिएको छ। विहारमा शिक्षकहरू रोशन आनन्द (रोशन सर) र फैसल खान (खान सर) बीच लामो समयदेखि व्यावसायिक शत्रुता चल्दै आएको छ। यो विवाद विशेष गरी विहार पुलिस कन्स्टेबल भर्ना परीक्षाको नतिजामा कुन संस्थाका विद्यार्थी बढी सफल भए भन्ने दाबीका बीच सुरु भएको थियो।
सन् २०२१ मा पनि प्रिन्सले खान सरको कक्षा कोठाभित्रै पसेर अभद्र व्यवहार र आक्रमण गरेको आरोप लागेको थियो। खान सरले रोशन आनन्दमाथि पटक/पटक बम आक्रमण गराएको र आफ्ना कर्मचारीलाई धम्काएको आरोप लगाउँदै आएका थिए।
जुन २ को घटनापछि भारतीय प्रहरीले रोशन आनन्दलाई जुन ३ मा पक्राउ गरी पटनाको बेउर जेल पठाएको थियो। रोशनको धरौटी निवेदन अदालतले जुन ९ मा अस्वीकार गरिसकेको छ।
अर्कोतर्फ, खान सरमाथि पनि आफ्ना सुरक्षागार्डलाई गोली चलाउन आदेश दिएको भन्दै अर्को उजुरी परेको छ। खान सरले भने आफू निर्दोष रहेको दाबी गर्दै अदालतबाट पक्राउ विरुद्ध अन्तरिम सुरक्षा प्राप्त गरिसकेका छन्।
-भारतीय सञ्चारमाध्यको सहयोगमा
प्रकाशित: ३१ जेष्ठ २०८३ १९:४९ आइतबार





