२१ असार २०८३ आइतबार
image/svg+xml
अपराध

रोकिएन तस्करी : सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती

रूपन्देही प्रहरीले गत शनिबार ओमसतियाको सानोबलापुरबाट २३ लाख ९ हजार रुपैयाँ बराबरका ३९ वटा आइफोन बरामद गरेको छ। लु ५३ प ३३९८ नम्बरको स्कुटरको डिक्कीमा ती आइफोन राखिएका थिए। इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले भारतबाट भन्सार छलेर ल्याइएका आइफोन र स्कुटर बरामद गरेको हो। तर स्कुटरमा सवार दुई जना फरार भए। इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक हरिराम डाँगीले शंकाको आधारमा उनीहरूको पछ्याउँदा आइफोन बरामद गरिएको बताए। “प्रहरीले पछ्याएको सुइँको पाएपछि उनीहरू स्कुटर छोडेर गाउँतिर भागे,” प्रहरी निरीक्षक डाँगीले भने।

त्यसको दुई दिनपछि सोमबार फेरि तस्करीका ३५ थान आइफोन रूपन्देहीको कोटहीमाई गाउँपालिकाबाट बरामद भए। इलाका प्रहरी कार्यालय मझगावाले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ल्याइँदै गरिएका २० लाख मूल्यका आइफोन बरामद गरेको हो। प्रहरीले यूपी ५६ डीएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल र कोटहीमाई–२ का पवनकुमार मुराउलाई समेत पक्राउ गरी भन्सार पठाएको छ।

विगतमा पनि प्रहरीले पटक–पटक तस्करीका सामान ओसार्ने व्यक्तिहरूलाई पक्राउ गरी भन्सार चलान गर्दै आएको छ। तर त्यसमा गहिरो अनुसन्धान गरी तस्करीको जालो तोड्नेतर्फ भन्सारले खासै चासो दिएको देखिँदैन। चोरीपैठारी मुद्दामा अधिकांश व्यक्ति भरिया मात्रै हुने र सामान लिलाम गरेपछि मुद्दा सामसुम पारिने गरेको छ।

पक्राउ पर्ने डर नभएपछि दुई–चार दिनमै फेरि त्यही गिरोह तस्करीमा फर्किन्छ। वर्षौंदेखि रूपन्देही सीमाका नाकाहरूमा देखिँदै आएको दृश्य यही हो। सुरक्षा निकायले बरामद गरेका सामानमध्ये झण्डै ८० प्रतिशत बेवारिसे फेला पर्ने गरेका छन्।

प्रहरी र सशस्त्रको टोलीले गत जेठ २५ गते भैरहवाको कोठीमाईस्थित एक घरबाट ४१ लाख मूल्यका अवैध सामान बरामद गरेको थियो। भाडामा लिइएको घरमा तस्करीका सामान गोदाम गरेर राखिएको प्रहरीको रिपोर्ट छ। तर घर भाडामा कसले लियो र सामान कसको हो भन्नेबारे घरबेटी वा छिमेकीसँग सामान्य सोधपुछबाटै पत्ता लाग्ने भए पनि सम्बन्धित निकायले त्यसमा चासो देखाएन।

गत जेठ २४ गते रोहिणीको भेटपुर्वामा प्रहरीले भन्सार छलेर ल्याइएका दुई वटा कुलरसहित गाडीलाई नियन्त्रणमा लिएको थियो। तिलोत्तमा–माधवपण्डितले चलाएको प्रदेश ३–०१–०२२ च ६५९८ नम्बरको कारमा ती कुलर बरामद भएका हुन्। धकधई प्रहरीको नजरमा पर्नुअघि सो गाडीले भन्सार, सशस्त्र र प्रहरीका धेरै वटा बिट पार गरेर आएको थियो।

भैरहवा भन्सारले घरायसी सामान किन्ने भारतीय बजार पुग्ने सर्वसाधारणबाट ५ सयका सामानमा राजस्व असुल गरिरहँदा मुख्य नाका बेलहिया, सहायक नाका लुम्बिनीको कक्रहवा, भगवानपुर, मर्चवार लगायतका क्षेत्रबाट खाद्यान्न, लत्ताकपडा, मोबाइल, विद्युतीय सामान, मोटर पार्ट्स, औषधिलगायतका वस्तुहरूको तस्करी भइरहेको छ।

सीमा क्षेत्रका स्थानीयहरू भन्सारका कर्मचारी र सशस्त्रको मिलेमतोमै तस्करी भइरहेको दाबी गर्छन्। धकधईका एक जना किसानले धानबालीका लागि भारतबाट ल्याएको पाँच किलो मल सशस्त्रले खोसेको तर लाखौंका सामान बोक्ने व्यापारी र तस्करलाई छुट दिने गरेको गुनासो गरे। “तस्करलाई हामीले मात्रै होइन, सशस्त्र र भन्सारका कर्मचारीले पनि चिनेका छन्। तर उनीहरूलाई पैसा खुवाएर यस्तो काम भइरहेको छ,” ती किसानले भने।

चोरी–तस्करीले राज्यको राजस्व मात्रै गुमेको छैन, मानव स्वास्थ्यमा समेत गम्भीर खेलवाड भइरहेको छ। नेपालमा प्रतिबन्धित औषधि तथा औषधिजन्य वस्तु, रसायनजन्य सामग्री, खाद्यान्न, तरकारी, फलफूल, कुखुरा, बाख्रासमेत भारतबाट अवैध रूपमा नेपाल भित्रिरहेका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल का अधिकारीहरू भने यो कुरा स्वीकार गर्दैनन्। उनीहरू अवैध सामान बरामदको तथ्यांक देखाउँदै तस्करी नियन्त्रणमा रहेको दाबी गर्छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण, रूपन्देहीका प्रवक्ता डीएसपी दुर्गा थापाले चोरीपैठारी नियन्त्रणका लागि विशेष अभियान चलाइएको र तस्करीको जालो तोडिएको बताए। तर उनले दिएको तथ्यांकले भने त्यसलाई पुष्टि गर्दैन। सशस्त्र प्रहरीले पछिल्लो ११ महिनामा ५२२ पटक अवैध सामान बरामद गर्दा जम्मा ५ पटक मात्रै वारिसे सामान भेटिएको छ। उसले जम्मा ८ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये अधिकांश भरिया भएको भन्दै सामान्य जरिवानामा छुटेका छन्। सशस्त्रले यो अवधिमा ११ करोड ८५ लाख मूल्यका सामान समातेको छ।

डीएसपी थापाका अनुसार सीमित वारिसे सामान भेटिनुको मुख्य कारण प्रहरी देखेपछि तस्करहरू खेतखलिहानबाटै भाग्नु हो।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाले पनि विगतको तुलनामा चोरीपैठारी कम भएको दाबी गरे। भन्सारले यो अवधिमा जम्मा ३८ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

नेपाल प्रहरीले ११ महिनामा २० करोडभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। उसले ९१२ पटक तस्करीका सामान बरामद गर्दा १५२ जनालाई पक्राउ गरेको थियो। तर तीमध्ये अधिकांश मुख्य तस्कर नभई भरियावाहक रहेको बताइएको छ।

बुटवल उद्योग वाणिज्य संघ का अध्यक्ष हरि प्रसाद अर्यालले भन्सार, सशस्त्र र नेपाल प्रहरी इमानदार भएर कानुनको अक्षरशः पालना गरे राजस्व चुहावट तथा चोरी–तस्करी रोकिने बताए। “तलदेखि माथिसम्मका कर्मचारीहरू कमाउने ध्याउन्नमा व्यस्त हुने प्रवृत्ति विगतमा पनि थियो, अहिले पनि छ, अब रोकिनुपर्छ,” उनले भने।

खुला सीमा, कम जनशक्ति र पर्याप्त उपकरणको अभाव मुख्य चुनौती रहेको सशस्त्रका प्रवक्ता थापाले बताए। रूपन्देहीमा करिब ७० किलोमिटर नेपाल–भारत खुला सीमा छ। रूपन्देहीमा सशस्त्रको एउटा गुल्म र ६ वटा बीओपी छन्। ती पनि केही त सीमाभन्दा ८–१० किलोमिटर टाढा छन्। त्यसले नाकामा हुने अवैध गतिविधि नियन्त्रणमा चुनौती थपिएको डीएसपी थापाले बताए।

प्रकाशित: १७ असार २०८३ २०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App