तिहार नजिकिएसँगै अवैध रूपमा ओसारपसार भइरहेको १ लाख ८५ हजार रूपैयाँ बराबरको पटकासहित ६ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।
काठमाडौं उपत्यका भित्र्याउन लागिएको अवस्थामा बारा र काभ्रे तथा उपत्यकाभित्र ललितपुरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैयाबाट प्रहरीले मंगलबार बिहान ८० हजार रूपैयाँ बराबरको पटकासहित दुई जनालाई पक्राउ गरेको छ।
सिम्रौनगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१-०३४ च ७३१५ नम्बरको पिकअप जाँच गर्ने क्रममा प्रहरी चौकी पथलैयाले उक्त पटका बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा पिकअप चालक रौतहट राजपुर नगरपालिका-५ का २८ वर्षीय बिनोद महतो र गाडीमा सवार बारा पचरौता नगरपालिका-७ का २६ वर्षीय राधा कृष्ण सहनी रहेका छन्।
यसैगरी, काभ्रेको धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङबाट ८० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटकासहित एक किशोर पक्राउ परेका छन्।
धनुषाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००७ ख १२२४ नम्बरको गाडी जाँच गर्दा उक्त पटका फेला परेपछि धनुषा जनकपुरधाम उपमहानगरपालिका-६ का १८ वर्षीय किशोरलाई अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङको टोलीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो।
उता ललितपुरको महालक्ष्मी नगरपालिका-४ सितलहाईटबाट २५ हजार रूपैयाँ बराबरको पटकासहित तीन जना पक्राउ परेका छन्।
प्रहरी वृत्त सातदोबाटोको टोलीले मंगलबार दिउँसो पर्सा वीरगंज महानगरपालिका-२६ घर भई हाल ललितपुर महालक्ष्मी-६ ईमाडोल बस्ने २८ वर्षीय अमित कुमार कुशुवहासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
बरामद पटकासहित पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान अघि बढाएका छन्।
प्रकाशित: ११ कार्तिक २०८३ १५:२७ बुधबार





