वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक मुलुकहरूमा पठाइदिने र मोटो तलब दिलाउने प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१२ बस्ने स्याङ्जाका ६३ वर्षीय हुम बहादुर कुँवर, सोही महानगरपालिका–३ बस्ने सोलुखुम्बुका ३१ वर्षीय लोकेन्द्र बस्नेत, र ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने सुनसरीका ४९ वर्षीय तोरण कुमार कार्की रहेका छन्।
त्यसैगरी, ललितपुर महानगरपालिका–१३ बस्ने रामेछापका ३७ वर्षीय रबिन्द्र खत्री, काठमाडौं टोखा बस्ने गोरखाका ४२ वर्षीय निरज गुरूङ र भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने पर्साकी ४७ वर्षीया रिन्कु कुमारी रौनियारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये हुम बहादुर कुँवरले सबैभन्दा ठूलो रकम ठगी गरेको पाइएको छ। उनले बेलायत (युके) पठाइदिने प्रलोभनमा पारी दुई जना पीडितहरूबाट कुल ८८ लाख ७० हजार रूपैयाँ असुल गरी सम्पर्कविहीन भएका थिए।
त्यस्तै, निरज गुरूङले आइसल्यान्ड पठाइदिने भन्दै चार जना पीडितहरूबाट ११ लाख ५६ हजार रूपैयाँ ठगी गरेको उजुरी परेको छ। तोरण कुमार कार्की र रिन्कु कुमारी रौनियारले भने सर्बिया पठाइदिने भन्दै पीडितहरूलाई ठगेका हुन्।
कार्कीले एक जनाबाट ६ लाख र रौनियारले चार जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
अन्य अभियुक्तहरूमध्ये लोकेन्द्र बस्नेतले हङकङ पठाइदिने भन्दै एक जनाबाट ३ लाख ३० हजार र रबिन्द्र खत्रीले बुल्गेरिया पठाउने प्रलोभनमा ३ लाख रूपैयाँ ठगी गरेका थिए।
पीडितहरूले आफूहरू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारेको थियो।
अपराध अनुसन्धान कार्यालयका अनुसार कुँवर, बस्नेत र कार्कीलाई सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। खत्री र गुरूङलाई शुक्रबार ललितपुरको पुल्चोक र काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो भने रौनियारलाई शनिबार भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरिएको हो।
पक्राउ परेका सबै जनालाई आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २६ जेष्ठ २०८३ १५:०२ मंगलबार





