२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अपराध

भारतबाट तस्करी गरी ल्याएको २५ लाख बराबरका यौनबर्द्धक औषधि बरामद

भारतबाट तस्करी गरी ल्याइएका करिब २५ लाख रुपैयाँ बराबरका यौनबर्द्धक औषधि सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपालले कृष्णनगर नगरपालिका–१ स्थित शिवनगर क्षेत्रबाट शुक्रबार बिहान साढे १० बजे ३३० थान ‘युरिफिल इफेक्ट’ नामक औषधि बरामद गरेको हो। सो औषधि यौन उत्तेजनाका लागि प्रयोग हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म कपिलवस्तुबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउदको नेतृत्वमा उक्त औषधि नियन्त्रणमा लिएको हो।

बरामद औषधिको बजार मूल्य २४ लाख ७५ हजार रुपैयाँ रहेको जनाइएको छ। उक्त सामग्री आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल २८ नम्बर हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिए।

नेपालमा औषधि तथा सर्जिकल सामग्रीमा कर बढेसँगै सीमा क्षेत्रमा चोरी–तस्करी तथा अवैध ओसारपसारका घटना बढ्दै गएको सुरक्षा निकायको भनाइ छ। सीमा क्षेत्रमा नियमित गस्ती र कडाइ गरिएको अधिकारीले बताए।

उनका अनुसार पछिल्ला केही महिनामै करिब २ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ। करिब ९३ किलोमिटर खुला सीमाका कारण सीमा अपराध नियन्त्रण सुरक्षा निकायका लागि चुनौतीपूर्ण बनेको छ।

 

प्रकाशित: २९ जेष्ठ २०८३ २१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App