४ चैत्र २०८२ बुधबार
image/svg+xml
अपराध

किराना पसलको आवरणमा यौनधन्दा : लमजुङबाट ३ नाबालिकाको उद्धार

किराना पसल तथा होटलको आवरणमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा लमजुङ प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

सदरमुकाम बेसीसहर नगरपालिका–८ स्थित एक पसलबाट प्रहरीले तीनजना नाबालिकाको उद्धार समेत गरेको छ।

पक्राउ पर्नेमा पसल सञ्चालिका ४५ वर्षीया कोपिला श्रेष्ठ रहेकी छिन्। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सञ्चालिका श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका नाबालिकाहरूलाई किराना पसलमा काम दिने प्रलोभन देखाइ ल्याउने गरेको खुलेको छ।

काममा राखेपछि पसलको पछाडिको भागमा छुट्टै कोठाको व्यवस्था गरी पुरुष ग्राहकहरूसँग शारीरिक सम्पर्क गर्न बाध्य पार्ने गरेको प्रहरीले जनाएको छ।

नाबालिकाहरूलाई जबरजस्ती यौन व्यवसायमा संलग्न गराई उनले आर्थिक लाभ लिँदै आएको अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनास्थलबाट उक्त कार्य पुष्टि हुने सबुद प्रमाणहरू समेत फेला पारेको छ।

पक्राउ परेकी श्रेष्ठलाई लमजुङ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

उद्धार गरिएका तीनैजना नाबालिकाहरूलाई भने आवश्यक मनोपरामर्श र सुरक्षाका लागि संरक्षण गृहमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ८ पुस २०८२ २०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App