नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा सङ्लग्न सात विदेशी महिलालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा जथाभावी बाटो छेकेर अश्लील क्रियाकलाप गर्ने र कार्यक्षेत्रमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात विदेशी महिलालाई शुक्रबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठमेल क्षेत्रमा हिँडडुल गर्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख हैरानी दिएको आरोपमा पक्राउ गरिएको जानकारी दिए।
कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारलाई अपशब्द प्रयोग गरी गालीगलौज गर्ने र धक्कामुक्का गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।
प्रकाशित: ९ जेष्ठ २०८३ ०६:५६ शनिबार





