५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अपराध

बिरामीमाथि कमिसनको चलखेल गर्ने १० जना पक्राउ

बिरामी र उनका आफन्तलाई निजी मेडिकलबाट औषधि खरिद गर्न प्रलोभन देखाई कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान परिसरबाट १० जनालाई नियन्त्रणमा लिएको छ।

मंगलबार राति प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सप्तरी अग्निसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार चौधरी, राजविराज नगरपालिका–६ की २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङ लेटाङ नगरपालिका–३ का २९ वर्षीय सान्बिन किराती, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी नगरपालिका–५ का ४० वर्षीय उमेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरोज निरौला, इनरुवा नगरपालिका–२ का ३१ वर्षीय रोहित मेहता तथा धरान–११ का १८ वर्षीय बिनोद भट्टराई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डीएसपी चन्द्र खड्काका अनुसार, प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरू निजी मेडिकल सञ्चालकसँग आबद्ध समूहका सदस्य रहेको खुलेको छ। उनीहरूले ‘सस्तोमा औषधि उपलब्ध गराइदिने’ भन्दै बिरामी र आफन्तलाई निजी मेडिकलमा पठाउने तथा त्यसबापत कमिसन लिने गरेको आशंका प्रहरीले गरेको छ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको पनि प्रहरीको भनाइ छ।

दुई दिनअघि पनि पक्राउ परेका थिए दुई जना

यसअघि सोमबार राति पनि उपचारका लागि आएका बिरामीलाई आर्थिक चलखेलमार्फत विभिन्न निजी अस्पतालमा पठाउने प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ का ४३ वर्षीय प्रविण पोखरेल र सुनसरी हरिनगर गाउँपालिका–४ का २७ वर्षीय दीपक राम रहेका छन्। उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा दीपक रामसँग रहेको पर्सबाट विराटनगरस्थित आर्या न्यूरो अस्पतालका दुईवटा भिजिटिङ कार्ड बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, पक्राउ परेकाहरूको मोबाइल फोनमा विभिन्न सरकारी अस्पतालका बिरामीहरूको प्रेस्क्रिप्सन, डिस्चार्ज कागजातका तस्बिर, बिरामीको नाम, उमेर, रोगसम्बन्धी विवरण अन्य व्यक्तिलाई पठाइएको सामग्री तथा एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बर उल्लेख भएका कागजातहरू फेला परेको प्रहरीको दाबी छ।

लगातार दुई दिनमा भएका पक्राउसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा बिरामीलाई लक्षित गरी हुने कथित दलाली र कमिसनको सञ्जालमाथि प्रहरीले अनुसन्धानलाई थप तीव्र बनाएको छ।

प्रकाशित: २४ असार २०८३ १६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App