पछिल्ला महिनाहरूमा डिजिटल प्रविधिको दुरुपयोग तीव्र रूपमा बढ्दै जाँदा नेपालमा अनलाइन ठगीको समस्या भयावह बन्दै गएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि चैतसम्मको नौ महिनामा मात्रै सर्वसाधारणबाट ४४ करोड ८८ लाख ९५ हजार २६७ रुपैयाँ ठगी भएको तथ्यांक सार्वजनिक भएको छ।
नेपाल प्रहरीका अनुसार यो रकम विभिन्न अनलाइन माध्यम प्रयोग गरेर ठगी गरिएको हो। गत आर्थिक वर्ष २०८१/०८२ मा अनलाइन ठगीबाट १९ करोड २३ लाख ७४ हजार २५९ रुपैयाँ गुमेको थियो। त्यसको तुलनामा चालु वर्षको नौ महिनामै ठगी रकम १३३.३४ प्रतिशतले बढेको देखिन्छ।
४४ जना पक्राउ, ७३ मुद्दा दर्ता
चालु आर्थिक वर्षको उक्त अवधिमा प्रहरीले अनलाइन ठगीमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ३२ पुरुष, ५ महिला र ७ विदेशी नागरिक रहेका छन्। यसै अवधिमा ७३ वटा मुद्दा दर्ता भएका छन्।
गत आर्थिक वर्षभरिमा भने यस्ता गतिविधिमा संलग्न ९२ जनालाई पक्राउ गरिएको थियो।
डिजिटल वालेट ठगीको मुख्य माध्यम
पछिल्लो समय खल्ती, फोन पे र कनेक्ट आइपीएस जस्ता डिजिटल वालेट तथा भुक्तानी प्रणालीको नाम दुरुपयोग गरी ठगी गर्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ।
सेवा प्रदायकमाथि विश्वास गरेर प्रयोगकर्ताले उपलब्ध गराएका विवरणहरू विभिन्न प्राविधिक उपायमार्फत दुरुपयोग गरी खातामा पहुँच बनाउने र रकम निकाल्ने क्रम बढ्दो छ। प्रहरीका अनुसार केही समूहले वालेटमार्फत व्यक्तिगत बैंक खातासम्म पहुँच बनाउने प्रयास गरिरहेका छन्।
कुन माध्यमबाट कति ठगी ?
१. वालेटमार्फत ठगी
सबैभन्दा धेरै ठगी डिजिटल वालेटमार्फत भएको छ। यस शीर्षकमा ८ वटा मुद्दा दर्ता भएका छन्। १८ पुरुष र १ महिला पक्राउ परेका छन्। यस माध्यमबाट करिब २३ करोड ५७ लाख रुपैयाँ ठगी भएको छ।
२. अनलाइन बैंकिङ ठगी
१२ वटा मुद्दा दर्ता भएका छन्। १ पुरुष, २ महिला र २ विदेशी पक्राउ परेका छन्। अनुमानित ठगी रकम १ करोड ७४ लाख ९४ हजार रुपैयाँ रहेको छ।
३. अनलाइन किनमेल ठगी
५ वटा मुद्दा दर्ता भएका छन्। यस माध्यमबाट ९ करोड ४५ लाख २९ हजार रुपैयाँ ठगी भएको छ।
४. सामाजिक सञ्जालमार्फत ठगी
चालु वर्षको नौ महिनामा सामाजिक सञ्जाल प्रयोग गरी २ करोड ५९ लाख ९७ हजार रुपैयाँ ठगी भएको छ। यसमा ४ जना पक्राउ परेका छन्।
नियमन र सुरक्षा प्रणालीमाथि प्रश्न
अनलाइन ठगी नियन्त्रणमा नियामक निकायहरूको प्रभावकारी भूमिका आवश्यक देखिए पनि सुरक्षा संयन्त्र अझै कमजोर रहेको गुनासो बढ्दो छ। विशेषगरी डिजिटल भुक्तानी प्रणाली विस्तार भएसँगै प्रयोगकर्ताको सुरक्षा, सचेतना र निगरानीमा थप सुधारको आवश्यकता देखिएको छ।
प्रहरी भन्छ– अनुसन्धान सशक्त बनाउँदैछौं
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले अनलाइन ठगी नियन्त्रणका लागि अनुसन्धान प्रणाली सुदृढ बनाइँदै गएको बताएका छन्।
उनले भने, ‘हामीले अनलाइन ठगी नियन्त्रणका लागि अपराध अनुसन्धानलाई थप सशक्त बनाउँदै लगेका छौं। प्रहरी कर्मचारीलाई नयाँ प्रविधिबारे तालिम दिने, क्षमता अभिवृद्धि गर्ने तथा अनुसन्धानको दायरा विस्तार गर्ने काम भइरहेको छ।’
सर्वसाधारणलाई सुझाव
विशेषज्ञहरूले ओटीपी, पासवर्ड, बैंक विवरण वा वालेट कोड कसैलाई नदिन, अपरिचित लिंक नखोल्न, शंकास्पद फोन वा सन्देशबाट सावधान रहन तथा तुरुन्त प्रहरी वा सेवा प्रदायकलाई जानकारी दिन आग्रह गरेका छन्।
प्रकाशित: १८ वैशाख २०८३ १६:११ शुक्रबार





