१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अपराध

रक्ताम्य रौतहट: ७ दिन, ३ हत्या... प्रहरी प्रशासनलाई चुनौती

रौतहटमा एक हप्ताभित्र तीन जनाको विभत्स हत्या भएपछि जिल्लाको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।

सदरमुकाम गौर र आसपासका क्षेत्रमा लगातार भएका अपराधका घटनाले स्थानीयमा त्रासको वातावरण सिर्जना गरेको छ। पछिल्लो पटक आइतबार (आज) बिहान एक महिलाको शव सुटकेशमा बन्द गरिएको अवस्थामा फेला परेको हो।

गौरसँग सिमाना जोडिएको राजदेवी नगरपालिकास्थित गौर–पिपरा सडकखण्डमा बेवारिसे अवस्थामा भेटिएको सुटकेशभित्र गौर नगरपालिका-२, महादेवपट्टीमा डेरा गरी बस्ने २६ वर्षीया रुबीकुमारी साहको शव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

माधव नारायण नगरपालिका-६, माधोपुर माइतीघर भएकी साह शनिबार साँझ ब्युटी पार्लर जान्छु भनी निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी, डिएसपी राजु कार्कीका अनुसार, महिलाको शरीरमा बाहिरी चोटपटक नदेखिए पनि नाकबाट रगत बगेको पाइएको छ।

‘मृतकको मोबाइल फेला परेको छैन र हामीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएका छौं,’ डिएसपी कार्कीले भने, ‘हत्या अन्यत्रै गरेर शव यहाँ ल्याएर फालिएको हुन सक्ने प्रारम्भिक अनुमान छ।’

मृतकका श्रीमान् शिवसागर साह भारतबाट आइपुगेका छन् र अनुसन्धानमा प्रहरीलाई सहयोग गरिरहेका छन्।

एक हप्तामा तेस्रो हत्या

यो घटना गौर क्षेत्रमा एक हप्ताभित्र भएको तेस्रो हत्या हो। यसअघि, गत भदौ ४ गते गौर नगरपालिका-५, बरहवा ताल नजिकै यमुनामाई गाउँपालिका-५ का २२ वर्षीय सहाबुद्दीन मियाको चक्कु प्रहार गरी हत्या गरिएको थियो।

लागुऔषध सेवनपछिको विवादमा गौर-३ का २० वर्षीय सनोज रामले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले अभियुक्त रामलाई घटनास्थलबाटै चक्कुसहित पक्राउ गरेको थियो।

त्यस्तै, गत सोमबार गौर-५ मै रहेको नेपाल लजको कोठा नम्बर २०२ मा सप्तरीका ५९ वर्षीय व्यापारी उपेन्द्र कुमार भगतको शव रहस्यमय अवस्थामा फेला परेको थियो।

खडक नगरपालिका-७ निवासी भगत गत आषाढ २५ गतेदेखि बेपत्ता थिए। उनको परिवारले आर्थिक लेनदेनको विवादमा अपहरणपछि हत्या भएको आरोप लगाएको छ।

मृतकका छोरा विकासकुमार भगतले बुवा हराएकै दिन फर्मको खाताबाट ४४ लाख रुपैयाँ झिकिएको दाबी गरेका छन्। प्रहरीले यस घटनाको पनि अनुसन्धान जारी राखेको जनाएको छ।

लगातारका यी विभत्स घटनाहरूले रौतहट, विशेषगरी सदरमुकाम गौरका बासिन्दाहरूमा असुरक्षा र त्रास बढाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले सबै घटनाको अनुसन्धान सूक्ष्म रूपमा भइरहेको र अपराधीलाई छिट्टै कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: ८ भाद्र २०८२ २०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App