मोरङको केराबारीमा आइतबार राति एम्बुलेन्समा राखेर गाँजा तस्करी गर्दै गर्दा प्रहरीले एम्बुलेन्ससहित २ जनालाई नियन्त्रणमा लिएको छ। केराबारी गाउँपालिका–५ लाफा टोलमा आइतबार राति ११ बजेतिर गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।
यसअघि पनि मोरङका विभिन्न ठाउँबाट लागुऔषध, प्रतिबन्धित औषधिलगायत कानुनले बन्देज गरेका वस्तुसहित प्रहरीले समय समयमा बिरामी बोक्ने एम्बुलेन्सलाई नियन्त्रणमा लिने गरेको छ। यो घटना मोरङका लागि नौलो नभएको प्रहरीले जनाएको छ।
एम्बुलेन्समा लुकाइछिपाइ ल्याएको १६ पोकामा ५ सय २१ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन्।
उनका अनुसार एम्बुलेन्सको प्रयोग गरेर धनकुटाबाट मोरङतर्फ गाँजा ल्याइँदैछ भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी र इलाका प्रहरी कार्यालय केराबारीका असई फजिन्द्र तोलांगीको संयुक्त टोलीले गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो।
शंकास्पद अवस्थामा आउँदै गरेको सूर्यबहादुर थापा प्रतिष्ठान खाल्सा छिन्ताङ सहिद भूमि गा.पा वडा नं. १ धनकुटाबाट सञ्चालित १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले केराबारी–५ लाफा टोलमा रोक्न खोज्यो। प्रहरीलाई देख्नसाथ एम्बुलेन्स छाडेर त्यहाँ सवार रहेकाहरू फरार हुन खोजेका थिए। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर गरेको डिएसपी चुँडालले बताइन्।
एम्बुलेन्समा राखेर गाँजा ओसारपसार गर्ने चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समै सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बूलाई पक्राउ परेका हुन्।
डिएसपी चुँडालले भनिन्, ‘एम्बुलेन्सलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा १६ वटा पोकामा प्याक गरेर राखिएको अवस्थामा ५ सय २१ केजी गाँजा बरामद भएको हो। धनकुटाबाट मोरङको बाटो हुँदै गाँजा भारत कटाउन खोजिएको हुनसक्छ। प्रहरीको आँखा छल्नका लागि एम्बुलेन्स प्रयोग गरियो। एम्बुलेन्समा ल्याउँदा कसैले पनि शंका गर्दै भन्ने सोचका ल्याएको हुनुपर्छ।’
नियन्त्रणमा लिइएको एम्बुलेन्स, बरामद भएको गाँजा र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर उनीहरूविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीले शनिबार राति मात्रै नेपाल–भारत सीमा क्षेत्रको जहदामा हवाई फायर गरेर २ जना भारतीय नागरिकलाई गाँजासहित पक्राउ गरेको थियो।
प्रकाशित: १४ पुस २०८२ १३:०३ सोमबार





