पोखरा महानगरपालिका–८ सभागृह चोक नजिकै धारिलो हतियार प्रहार गरी ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। हत्या गरेर फरार भएकामध्ये मुख्य व्यक्तिलाई बुटवलबाट पक्राउ गरेको प्रहरीले बताएको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आएकी केसीको गत बुधबार बेलुकी खुँडा प्रहार गरी हत्या गरिएको थियो। प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पर्वतको कुश्मा नगरपालिका–११ शिल्मी घर भइ पोखरा–६ मा डेरा गरी बस्ने सन्तोष भन्ने शिशिर केसी (२७) र पोखरा–१७, रातोपाहिरा बस्ने कुशल परियार (३२) लाई पक्राउ गरिएको उनले बताए।
प्रहरीले केसीलाई रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ मनकामना टोलबाट पक्राउ गरेको थियो। केसी यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएका थिए। उनलाई प्रहरीले २०८० माघ २४ मा अभद्र व्यवहारमा प्रहरीले मुद्दा चलाएको थियो। त्यस्तै गत असार ५ गते पनि डाँकाचोरी सम्बन्धी कसुरमा उनी पक्राउ परेका थिए। गत साउनमा पनि उनलाई डाँकाचोरी सम्बन्धी कसुरमा पक्राउ गरिएको थियो। पक्राउ परेका परियार यसअघि दुई पटकसम्म लागुऔषध कसूरमा पक्राउ परेका थिए।
गत बुधबार साँझ पोखरा–बागलुङ सडक अन्तर्गत शिवालय चोक नजिकै सिर्जनालाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए। पछाडिबाट भएको आक्रमणपछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा चिकित्सकले सोही दिन राति ८ः१८ बजे मृत घोषणा गरेका थिए। मृतक सिर्जना पोखरा महानगरपालिका–५ जिरो किलोमिटर घर भइ हाल पोखरा–१८, सेदी बस्दै आएकी थिइन्।
एसपी कार्कीका अनुसार प्रहरीले हत्याका बखत प्रयोग गरिएको ग २५ प ३०४४ नम्बरको स्कुटर पनि फेला पारेको छ। त्यस्तै हत्यमा प्रयोग गरिएको खुँडालाई पोखरा १६ बिरौटास्थित तितेपानी जंगलबाट फेला पारेको छ। पृथ्वीचोकमा रहेको पसल बन्द गरेर पैदल हिँडेर घर फर्कँदै गर्दा बत्तीको पर्याप्त उज्यालो नभएको ठाउँ पारेर महिलामाथि खुँडा प्रहार गरिएको एसपी कार्कीले जानकारी दिए।
‘पैदल हिँड्दै गरेको अवस्थमा पछाडिबाट खुँडा प्रहार गरिएको रहेछ,’ कार्कीले भने, ‘धारिलो हतियार प्रहार गर्ने व्यक्तिले मास्क समेत लगाएका थिए। स्कुटरको नम्बर प्लेट पनि छोपिएको थियो।’ एसपी कार्कीका अनुसार महिलाको हत्या गर्ने तयारीका साथ दुवैजना दिउँसैदेखि पर्खेर बसेको तथा पसल बन्द गरेर बाहिर निस्के लगत्तै पछ्याउँदै गएर खुँडा प्रहार गरेको एसपी कार्कीले जानकारी दिए। स्कुटर चालक परियारलाइ काममा सघाएबापत पैसा दिने भन्दै केसीले लिएर आएका थिए।
प्रहरीका अनुसार पोखरा–५ जिरो किमिस्थित मासु पसल तथा रेस्टुरेन्ट व्यावसाय गर्दै आएका ‘खसी किन्ने किस्ने’ को नामले परिरिच कृष्ण क्षेत्रीको पहिलो श्रीमतीको मृत्यु भएपछि सिर्जना र कृष्णबीच नौ वर्षअघि विवाह भएको थियो। जेठी श्रीमतीतर्फ एक छोरा र दुई छोरी थिए। तीन वर्षअघि कृष्णको मृत्यु भएपछि सिर्जनाले एकल जीवन बिताइरहेकी थिइन्। उनको चार वर्षकी छोरी पनि छिन्।
मृतक पौडेल र परिवारका सदस्यबीच पारिवारिक बेमेल रहेको प्रहरीको भनाइ छ।
प्रकाशित: २७ चैत्र २०८२ १७:४६ शुक्रबार





