ललितपुरको महालक्ष्मी नगरपालिका-६ सानागाउँस्थित एक घरबाट सुन, चाँदी, तामा तथा पित्तलका गरगहना र विभिन्न सामग्री चोरी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा चोरीमा संलग्न ३१ वर्षीय अनिल खड्गीलाई पक्राउ गरेको हो। काठमाडौंको लैनचौर घर भई हाल ललितपुरको हरिसिद्धी बस्दै आएका खड्गीलाई चोरीका विभिन्न धनमालसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।
उनको साथबाट तामाको फिल्टर, जग, दियो, कलश, पञ्चमाला, अष्टमण्डल, पित्तलको पन्यू, चाँदीको जस्तो देखिने टिकादानी तथा कल्ली, विभिन्न धातुका मूर्ति, घडी, सुनको जस्तो देखिने सिक्री तथा ब्रासलेट, पोतेमाला र कपडाहरू बरामद भएका छन्।
प्रकाश ताम्राकारको घरमा साउन ३० गते साँझ करिब ६ बजे चोरी भएको थियो। पक्राउ परेका खड्गीविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित: २ भाद्र २०८३ ०८:०० मंगलबार





