झारफुक गर्ने भन्दै १४ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले जाजरकोटको बारेकोट गाउँपालिकाबाट एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाउँपालिका–६ धुमा स्थित सार्वजनिक सडकमा गत असार ५ गते दिउँसो करिब १ बजे स्थानीय ५९ वर्षीय हिरालाल चलाउनेले बालिकालाई झारफुक गर्ने भन्दै हात र मुक्काले कुटपिट गरेका थिए।
बालिकामाथि कुटपिट गरिएको उक्त घटना सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा संलग्न चलाउनेको खोजी थालेको थियो। उनलाई साउन २१ गते दिउँसो करिब ४ बजे बारेकोट गाउँपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चलाउनेलाई सोही दिन जाजरकोट जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
प्रकाशित: २३ श्रावण २०८३ ०८:४८ शनिबार





