एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन्।
प्रहरीका अनुसार दाङ, तुलसीपुर उपमहानगरपालिका-२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डरधम्की दिँदै कुटपिट गरेका थिए। उनले सोही कुटपिटको भिडियो मंगलबार बेलुका आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
भिडियो सार्वजनिक भए लगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार राति २२:४० बजे उनकै घरबाट मगरलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथबाट लागुऔषध प्रेगाम्याक्स १ ट्याब्लेट, ट्रोह्मो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोहम ५ ट्याब्लेट समेत बरामद गरेको छ।
सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले तुलसीपुर-२ बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
प्रकाशित: ३ असार २०८३ ०९:५२ बुधबार





