त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम गाँजासहित दुई भारतीय महिला तथा काठमाडौंसहित विभिन्न जिल्लाबाट गरी १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले विभिन्न प्रकारका अवैध लागूऔषधसहित उनीहरूलाई सोमबार र सोमबार राति नियन्त्रणमा लिएको हो।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टोलीले विमानस्थलको आगमन क्षेत्र बाहिरबाट करिब १४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारतको गुजरात बस्ने ४६ वर्षीया शेख शबानाबानु यार महम्मद र ३५ वर्षीया अन्सारी सरिफा अब्बास छन्। उनीहरू मलेसियन बाटिक एयरको उडानमार्फत काठमाडौं आएका थिए।
यसैगरी, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ डाँछी चोकबाट ९० ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा-१ गागलफेदी बस्ने ललितपुर गोदावरीका २१ वर्षीय उमेश मगर र थली हेमपाइप बस्ने धनकुटाका २७ वर्षीय मिलन मिश्र छन्। उनीहरूलाई प्रहरी प्रभाग थलीको टोलीले गए राति नियन्त्रणमा लिएको हो।
सिराहाको धनगढीमाई नगरपालिका-१० डगर टोलबाट ६ किलो २ सय ७० ग्राम गाँजासहित बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुरका ४१ वर्षीय शिव शंकर साह पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारको टोलीले म.प्र. ०३-०३२ प ७५२ नम्बरको मोटरसाइकलमा सवार उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
त्यस्तै, सिराहाकै धनगढीमाई नगरपालिका-१४ बिहिबारे टोलबाट ५६ वर्षीय झनक बहादुर ठकुरी १६ किलोग्राम गाँजा जस्तो देखिने वस्तुसहित पक्राउ परेका छन्। ब्यूरोको गोलबजार शाखाले सोमबार साँझ उनको घर खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको थियो।
कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बाट २ ग्राम ६ सय २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सोही ठाउँको वडा नम्बर १० बस्ने २४ वर्षीय चालक आषिस लुहार पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले म.१ ह ५५६ नम्बरको अटो जाँच गर्ने क्रममा सोमबार राति उनलाई फेला पारेको हो।
सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट ४ ग्राम ७ सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित धरान उपमहानगरपालिका-५ का २६ वर्षीय बिशाल अछामी र ३८ वर्षीय बिरू लिम्बु पक्राउ परेका छन्।
उनीहरूलाई अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कको टोलीले सोमबार बेलुकी नियन्त्रणमा लिएको हो।
यता, नवलपरासी पूर्वको कावासोती नगरपालिका-१५ गैरीटोलबाट १ किलो १ सय ३८ ग्राम गाँजासहित सोही ठाउँका ४८ वर्षीय बुद्धिराम गुरौ पक्राउ परेका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलीले सोमबार दिउँसो नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै व्यक्तिहरूमाथि सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाएका छन्।
प्रकाशित: १० कार्तिक २०८३ १४:५३ मंगलबार





