रौतहटको गरुडा नगरपालिका -०७ भिमडावरमा तीन वटा घरमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा एक थान लोडेड कटुवा पेस्तोल बरामद गरिएको छ।
बिहान ०९:३० बजे गरुडा नगरपालिका-०७ भिमडावर बस्ने दयाराम साहको एकतल्ले पक्की घरको पछाडिको ढोकामा लगाइएको आग्लो भाँचेर घरभित्र प्रवेश गरी रेडमी, ओपो र रियलमीका ३ थान मोबाइल चोरी भएको थियो। त्यस्तै, सोही स्थान बस्ने मनोज साहको एकतल्ले पक्की घरमा छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो साइडबाट निकालेर दराजमा राखिएको पर्सबाट नगद करिब ५ हजार रुपैयाँ चोरी भएको थियो।
त्यस्तै, सोही स्थान बस्ने रामाज्ञा साहको एकतल्ले पक्की घरको माथिल्लो ढोकाबाट घरभित्र प्रवेश गरी कोठामा रहेको टिनको बाकसभित्र राखिएको पर्सबाट नगद ८ हजार रुपैयाँ र १ थान भिभो मोबाइल चोरी भएको थियो। उक्त चोरीको घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिई अनुसन्धान गर्ने क्रममा दयाराम साहको खपडाको छानो भएको भुईघरको बरण्डामा रहेको खाटमा १ थान लाइभ राउण्ड लोडेड कटुवा पेस्तोल फेला परेको हो। उक्त पेस्तोल बरामद गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: २ आश्विन २०८३ १३:३२ शुक्रबार





