कास्कीका दुई फरक ठाउँमा लुटपाट गर्ने तीनसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ ठूलोकुना र पोखरा–१९ पुरुञ्चौरमा एक्लाएक्लै हिंडिरहेका दुई महिलाको गहना लुट्ने एउटै समूहका तीन जना र बिक्रीका लागि सघाउने थप दुई जना गरेर पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको हो ।
पक्राउ परेकामध्ये कास्की मादी–६ तप्राङ घर भई हाल पोखरा–१ भिमकालीपाटन बस्ने २१ वर्षीय सुशील नेपाली, पोखरा–२३ घर भई पोखरा–१ भिमकालीपाटन बस्ने २७ वर्षीय आशिष नेपाली सुनार र पोखरा–२३ का १८ वर्षीय विजय पराजुली लुटपाटमा संलग्न भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै, चोरीका गरगहना बेच्न सघाएको आरोपमा आशिष नेपाली सुनारकी २१ वर्षीया श्रीमती अस्मिता नेपाली र मुस्ताङ थासाङ गाउँपालिका–२ घर भई हाल पोखरा–१ बाघबजार बस्ने ५३ वर्षिय तुलबहादुर विश्वकर्मा छन् । विश्वकर्मा पोखरा–१ बगरस्थित मुक्तिनाथ सुनचाँदी दुकानका हुन् ।
तीन जनाको समूहले पुस १ गते अपराह्न ३:४० बजे माछापुच्छ्रे–६ ठूलोकुनाकी ८२ वर्षीया महिलालाई आफ्नै गाउँमा एक्लै हिंडिरहेका बेला लछारपछार गरि दुवै कानमा लगाएको सुनको रिङ्ग लुटेर लगेको तथा सोहि दिन अपराह्न ४:५५ बजे पोखरा–१९ पुरुञ्चौरकी ६५ वर्षीया महिलाको दुवै कानमा लगाएको सुनको रिङ लुटेका थिए ।
लुटिएका सामानहरु आशिष नेपाली सुनारको घरमा लुकाएको र उनकी श्रीमती अस्मिताले एक जोर रिङ्ग बगरको मुक्तिनाथ सुनचाँदी पसलमा बिक्री गरेको पाइएको डिएसपी बस्नेतले जानकारी दिए ।
लुटपाटमा संलग्न तथा बिक्रीका लागि सहयोग गर्नेहरुको साथबाट सुनजस्तो देखिने पहेंलो रङको २४ लाल ९ प्वाईन्टको धातुको डल्लो थान–१, हातमा लगाउने १ तोला ५ लालको बाला २ थान, कानमा लगाउने ४५ लाल ५ प्वाईन्टको रिङ २ थानसहित नगद ६० हजार ३ थान मोवाईल र ग.६प. ५१८२ नम्वरको १ थान स्कुटर बरामद गरेको उनले जानकारी दिए ।
प्रकाशित: ४ पुस २०८२ १९:५६ शुक्रबार





