विराटनगरमा सशस्त्र प्रहरीले स्रोत नखुलेको ५ लाख रुपैयाँभन्दा बढी नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिबाट ५ लाख १ सय १५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित दुई नम्बर ढाटमा चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो। सशस्त्र प्रहरीका डीएसपी तिलकबहादुर खड्काको नेतृत्वमा रहेको टोलीले बीआर ३८ एनएन १४३८ नम्बरको भारतीय मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित अररिया जिल्ला जोगवनी–१० का ३० वर्षीय आनेशकुमार चौधरी रहेका छन्। उनको साथबाट १ हजार दरका २ सय थान (२ लाख), ५ सय दरका ६ सय थान (३ लाख), १ सयको १ थान, १० को १ थान र ५ रुपैयाँको १ थान नोट गरी जम्मा ५ लाख १ सय १५ रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको रकमको स्रोत खुलाउन नसकेपछि चौधरीसहित नगद र मोटरसाइकललाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ वैशाख २०८३ ०९:२५ शुक्रबार





