२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
अपराध

विमानस्थलमा २२ करोडको हेरोइनसहित भारतीय नागरिक पक्राउ

फाइल तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य पर्ने साढे ५ केजी सेतो हेरोइन बरामद गरेको छ। 

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट काठमाडौँ आएका एक भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महाराष्ट्र निवासी ५२ वर्षीय रेवराज टिघारे रहेका छन्। शनिबार बिहान विमानस्थलमा गरिएको नियमित जाँचका क्रममा उनको लगेजभित्र लुकाइएको अवस्थामा हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाएर लागुऔषध ल्याएका थिए। बरामद गरिएको हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका टिघारेको यसअघि लाओसबाट काठमाडौँ हुँदै भारत गएको यात्रा विवरण पनि भेटिएको छ। साथै, उनले जिम्बाब्वे, सुडान, बङ्गलादेश र कम्बोडियालगायत देशको भ्रमण गरेको खुलेको छ।

प्रहरीले उनलाई अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालसँग जोडिएको आशङ्का गरेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरिङसम्बन्धी प्रमाणपत्रसमेत बरामद भएको बताइएको छ।

हाल पक्राउ परेका भारतीय नागरिकमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०८३ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App