२२ असार २०८३ सोमबार
image/svg+xml
अपराध

गोदामबाट करोडौंको अवैध कपडा बरामद

सर्लाहीको हरिपुर्वा नगरपालिका-३ धनकौलस्थित एक घरगोदाममा लुकाइछिपाइ राखेको करिब एक करोड रुपैयाँ बराबरको अवैध कपडा सुरक्षाकर्मीले बरामद गरेको छ। भारतबाट तस्करी गरी भण्डारण गरिराखेको अवस्थामा संयुक्त सुरक्षा टोलीले उक्त कपडा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नम्बर २ बाहिनी मुख्यालय बर्दिबास महोत्तरीको निर्देशनमा सर्लाही भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापामारी प्रहरीको दुई भ्यान र एक पिकअप अवैध कपडा नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नम्बर २ बाहिनी बर्दिबासका डिआइजी विष्णु प्रसाद भट्टका अनुसार 'धनकौलका व्यापारी सत्यनारायण साहको घरमा तस्करीका कपडा भण्डारण गरिराखेको गोप्य सूचनाका आधारमा घरलाई चारैतिरबाट घेरा हालेर छापामारी गर्दा ठूलो मात्रामा तस्करीको कपडा बरामद भएको हो' उनले बताए।

भारतको सीमावर्ती बजारबाट अवैध रूपमा नेपाल भित्र्याइएको कपडा करिब सात किलोमिटर उत्तरस्थित धनकौल गाउँमा भण्डारण गरिएको थियो। बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको छ। यो कारबाही सर्लाहीमा पछिल्लो समय तस्करीविरुद्ध सञ्चालन भइरहेको अभियानकै ठूलो सफलता हो।

यसैबिच गत असार ११ गते बलरा नगरपालिका-२ हथियौल नाकाबाट भारतीय नम्बर प्लेटका चारवटा पिकअप र एउटा नेपाली ट्रकमा लोड गरिराखेको अवस्थामा २४९ बोरा फर्सीको बीउ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।

डिआइजी भट्टले जिम्मेवारी सम्हालेदेखि सीमावर्ती क्षेत्रमा फैलिएको तस्करी सञ्जालविरुद्ध विशेष अभियान सञ्चालन गरिएको सुरक्षा स्रोतको दाबी छ। असार महिनामै करोडौं रुपैयाँ बराबरका फर्सीको बीउ र कपडा बरामद हुनुले सर्लाही तस्करीको प्रमुख ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग हुँदै आएको देखाउँछ।

सीमामा तैनाथ केही सुरक्षा निकायकै मिलेमतोमा तस्करी हुने गरेको आरोप भने पुरानै हो। सर्लाहीमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीका दुई गुल्म र आठवटा बीओपी (बोर्डर आउट पोस्ट) रहे पनि केही सुरक्षा अधिकारी र तस्करबिचको साँठगाँठका कारण अवैध कारोबार रोक्न चुनौती कायम रहेको स्रोतको भनाइ छ।

सर्लाहीको पूर्वी नाका त्रिभुवननगर, सखुवा, पर्सा, संग्रामपुर, नारायणपुर, खुटौना र भाँडसर क्षेत्रका सीमावर्ती नाकाबाट अझै पनि तस्करी नरोकिएको स्रोतको भनाइ छ।

प्रकाशित: २२ असार २०८३ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App