श्रीमतीको हत्या गरेको आरोपमा विराटनगर महानगरपालिका–१५ का दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर–१५ हड्ताली हाटका ३५ वर्षीय रोशन साहलाई श्रीमतीको हत्या गरी शव लुकाएको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार रोशनले आफ्नी ३२ वर्षीया पत्नी कोमलकुमारी साहको हत्या गरी शव लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
रोशनले चैत ५ गते राति घरभित्रै हत्या गरेपछि प्रदेश १–०२–००३ ह ५७०७ नम्बरको सिटी सफारीमा राखेर शवलाई विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिकको खोल्सामा फालेको प्रहरीले जनाएको छ। सो सवारी साधन रोशनका दाजु ४६ वर्षीय दीपेन्द्र साहको रहेको खुलेको छ।
सोमबार साँझ विराटनगर–१७ नम्बर वडाको कार्यालय र छाला फ्याक्ट्रीको पश्चिमतर्फ रहेको खोल्सामा पानीभित्र खुट्टा देखिने अवस्थामा शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार हत्या पश्चात् शव लुकाउन योजनाबद्ध प्रयास गरिएको देखिएको डीएसपी लामिछानेले बताए।
प्रहरीका अनुसार रोशनले श्रीमतीको हत्या गरेपछि शव लुकाउन दाजु दीपेन्द्रको सिटी सफारी प्रयोग गरेका थिए। “साडी र गलबन्दीले घाँटी कसेर हत्या गरेपछि दाजुसँगको सहयोगमा शव व्यवस्थापन गरिएको पाइयो,” डीएसपी लामिछानेले भने। शव राखिएको सवारी दीपेन्द्रले चलाएका थिए भने रोशन पनि सँगै गएका थिए। छाला फ्याक्ट्री नजिक पुगेपछि शव फालेर उनीहरू घर फर्किएको अनुसन्धानबाट खुलेको छ।
घटनामा प्रत्यक्ष संलग्नता रोशनको देखिए पनि शव व्यवस्थापनमा दाजु दीपेन्द्रको भूमिका कति रहेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हत्या पश्चात् शव लुकाउन रोशनले योजनाबद्ध प्रयास गरेको देखिएको छ। हातखुट्टा बाँधी श्रीमतीको शव बोकेर विराटनगर–१७ स्थित खोल्सामा फालिएको थियो। घटना लुकाउन घरदेखि करिब ४ किलोमिटर टाढा उक्त स्थान रोजिएको प्रहरीले जनाएको छ।
कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन्। रोशनले नै चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा श्रीमती हराएको भन्दै खोजीका लागि निवेदन दिएका थिए। चैत १० गते साँझ करिब ७ बजेतिर शव फेला परेको हो।
कोशी अस्पतालका फरेन्सिक चिकित्सकसहित डीएसपी लामिछाने र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो। पछि हराइरहेका व्यक्तिहरूको विवरणसँग मिलाएर मृतक कोमलकुमारी साह भएको पुष्टि गरिएको प्रहरीले जनाएको छ।
श्रीमतीको शव फेला परेपछि रोशन भारततर्फ भाग्ने प्रयासमा रहेका बेला घरबाटै पक्राउ परेका थिए। समयमै नियन्त्रणमा नलिइएको भए उनी फरार हुन सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनापछि रोशनले शंका नजाओस् भनेर ससुराली पक्षसँग सम्पर्क राख्दै आवतजावत बढाएका थिए।
रोशन र कोमलकुमारीका १२ वर्षीय छोरा र १० वर्षीया छोरी छन्। छोराछोरी सुतिसकेपछि रातिको समयमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
बुधबार कोशी अस्पतालमा पोस्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइएको छ। रोशन र उनका दाजु दीपेन्द्रविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि घटनाका विस्तृत तथ्य सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
प्रकाशित: ११ चैत्र २०८२ २१:३६ बुधबार





