२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

अनलाइन स्क्याममा संलग्न गिरोह पक्राउ, १४ वर्षे बालक पनि संलग्न

सांकेतिक तस्बिर

अनलाइन स्क्याममा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट १० करोडभन्दा बढीको अवैध कारोबार भएको खुलासाको दावी प्रहरीको छ ।  

विशेष सूचनाको आधारमा प्रहरीले पर्साको वीरगञ्जमा सञ्चालन हुँदै आएको ठूलो अनलाइन ठगी गिरोह भण्डाफोर गर्दै दुई जनालाई पक्राउ गरेको हो ।  

बिहीबार दिउँसो करिब १२:०० बजे वीरगञ्ज महानगरपालिका–८ प्रभु अस्पताल अगाडिको सडक खण्डबाट पक्राउ परेका उनीहरूले मनी म्यूल अकाउन्ट सञ्चालन गरी देशभरका सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिहरूले विभिन्न व्यक्तिहरूका बैंक खाता तथा डिजिटल वालेट प्रयोग गरी फिसिङ, ओटीपी फण्ड, जब स्क्याम, फेक अनलाइन व्यापार स्क्यामलगायतका अनलाइन अपराधमार्फत ठूलो परिमाणमा रकम हिनामिना गर्दै आएका थिए। साथै, एआईको प्रयोग गरेर विभिन्न कम्पनीलाई आवश्यक पर्ने कागजात र अर्डर बिल समेत नक्कली रूपमा तयार गरी ठगी कार्यलाई व्यवस्थितरूपमा सञ्चालन गरिएको अनुसन्धानले देखाएको छ।

अनुसन्धानमा उनीहरूले सञ्चालन गरेको अवैध कारोबार करिब १० करोड रुपैयाँभन्दा बढी रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ। पक्राउकै क्रममा प्रहरीले विभिन्न बैंकका ४३ थान एटीएम कार्ड बरामद गरेको छ।

प्रहरीले मुसैली, वीरगञ्ज–२९, पर्साका ३५ वर्षीय कृष्णाप्रसाद साह, ठेगाना नखुलाइएका १४ वर्षका एक बालक छ ।  

उनीहरू विरुद्ध बैंकिङ कसूर सम्बन्धी मुद्दा दर्ता गरिएको छ। पर्सा जिल्ला अदालतबाट ३ दिने म्याद थप अनुमति लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

अनलाइनमार्फत भइरहेका ठगी गतिविधिबारे प्रहरीले सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ।

प्रकाशित: २८ कार्तिक २०८२ १६:२६ शुक्रबार