२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अपराध

सुन भन्दै ७१ लाखमा फलाम बेच्ने गिरोह पक्राउ

सुन भन्दै फलामको ढिक्का देखाएर एक महिलाबाट ७१ लाख रुपैयाँ ठगी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका घर भई हाल काठमाडौंमा बस्दै आएकी ४६ वर्षीया गीता केसीलाई ठगी गरेको आरोपमा उक्त गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार गत असोज २३ गते पीडित महिलालाई सुनको लोभ देखाएर ११ लाख रुपैयाँ नगद र ६० लाख रुपैयाँको चेक लिएर उनीहरू फरार भएका थिए।

घटनाको सूचना पाएलगत्तै प्रहरी वृत्त स्वयम्भूबाट खटिएको विशेष टोलीले खोजतलास गर्ने क्रममा असोज २९ गते काठमाडौंको सुन्धारास्थित ध्रुव पाटन होटलबाट तीनै जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका-६ का ६० वर्षीय कर्ण ध्वज लिम्बु, धनकुटाको चौबिसे गाउँपालिका-४ का ५९ वर्षीय मान बहादुर सुवेदी र ताप्लेजुङकै मैवाखोला गाउँपालिका-६ का ४० वर्षीय विरेन भन्ने राम लिम्बु रहेका छन्।

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये कर्ण ध्वज लिम्बु यसअघि पनि ठगी मुद्दामा धरौटीमा छुटेको र मान बहादुर सुवेदी ठगी मुद्दामै फरार रहेको खुलेको छ।

उनीहरूको साथबाट प्रहरीले कालो-पहेंलो लेप लगाइएको ३ थान धातुका ढिक्का, सिद्धार्थ बैंक लिमिटेडको ६० लाख रुपैयाँको चेक १ थान र ४ थान सिम कार्ड बरामद गरेको छ।

पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट ठगी कसुरमा अनुसन्धानका लागि आठ दिनको म्याद थप गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसरले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८२ २१:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App