बागलुङको काठेखोला गाउँपालिका–३ माझँकटेरामा साथिको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
काठेखोला गाउँपालिका–३ माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा बस्दै आएका ढोरपाटन नगरपालिका–७ स्थायी घर भएका ३६ वर्षीय अशोक खत्रीको हत्या भएको थियो।
उनीसँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगरले साउन २६ गते राती ९ः४० बजे धारिलो चक्कु प्रहार गरी खत्रीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी र स्थानीयवासीको समन्वयमा घटनास्थलबाट भाग्न नपाउँदै अर्जुन घर्ती मगर र उनीहरूसँगै काम गरी बस्ने ढोरपाटन नगरपालिका–५ का ३६ वर्षीय रिखे दमाईलाई काठेखोला गाउँपालिका–३ धम्जा माझँकटेराबाट सोही रात पक्राउ गरिएको थियो।
प्रहरीको अनुसार साउन २० गते अशोक खत्री, अर्जुन घर्ती मगर र रिखे दमाई काठेखोला गाउँपालिका–३ धम्जा माझँकटेरामा देबेन्द्र खत्रीको घरमा ओखरको बिरुवा रोप्ने कामका लागि घरबाट हिँडेका थिए।
बाटोमा अशोक खत्रीको घरमा काम परेपछि उनी बीचबाटोबाटै फर्किएका थिए भने अर्जुन र रिखे काम गर्ने स्थानमा पुगेका थिए। त्यसपछि साउन २४ गते अशोक खत्री पनि उनीहरू काम गरिरहेको स्थानमा पुगेपछि तीनै जना सँगै बस्दै आएका थिए।
अनुसन्धानका क्रममा साउन २५ गते राति तीनै जनाबीच फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सामान्य विवाद भएको खुलेको छ। त्यसको भोलिपल्ट साउन २६ गते दिनभरको काम सकेपछि उनीहरू सँगै बसेर मदिरा सेवन गरिरहेका बेला अघिल्लो दिनको विवाद पुनः चर्किएको थियो।
सोही क्रममा अर्जुन घर्ती मगरले धारिलो चक्कु प्रहार गर्दा खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मृतक अशोक खत्रीका १२, ९ र ७ वर्ष उमेरका तीन छोरा रहेका छन्। उनकी श्रीमती दिलमाया भण्डारी पुनः गर्भवती रहेको र सम्पूर्ण परिवार अशोक खत्रीको आम्दानीमै आश्रित रहेको जनाइएको छ। घटनापछि दिलमाया भण्डारीले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता गराएकी छन्।
पक्राउ परेका अर्जुन घर्ती मगर र रिखे दमाईलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रकाशित: ५ भाद्र २०८३ १८:३९ शुक्रबार


-600x400.jpg)


