१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अपराध

ओखलढुंगामा वृद्ध दम्पतीको हत्या र लुटपाटमा संलग्न चार जना पक्राउ

ओखलढुंगामा वृद्ध दम्पतीको हत्या र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्लाको चिशंखुगढी गाउँपालिका-६ मा भएको दम्पती हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा चिसाङ्ग गाउँपालिका-३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका-४ रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर-८ माम्खा बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन्।

चिशंखुगढी गाउँपालिका-६ भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको गत मंगलबार हत्या भएको थियो।

लुटेरा समूहले दम्पतीको हत्या गरी नगद १ लाख रुपैयाँ, २ तोला सुनका गरगहना र ६ तोला काँचो सुन लुटपाट गरेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट विशेष टोली खटिएको थियो।

प्रहरी टोलीले संगमलाई चिसाङ्ग-३ बाट र विनोदलाई वडा नम्बर-४ बाट शुक्रबार तथा प्रकाश र अशोकलाई शनिबार पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका व्यक्तिहरूले यसअघि पनि हत्या गरेको खुलेको छ।

उनीहरूले गत असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खु बस्ने ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) को समेत हत्या गरेको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ।

प्रहरीले अभियुक्तहरूको साथबाट दुई थान भरुवा बन्दुक, एक थान सुनको रिङ, बन्चरो, खुकुरी र कोदालो बरामद गरेको छ।

पक्राउ परेका चारै जनामाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित: २१ पुस २०८२ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App