६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अपराध

प्रहरी कार्यालयमा तोडफोड गर्ने थप पाँच जना पक्राउ

निजी सम्पत्ति क्षति गर्नेको खोजी हुँदै

फाइल तस्बिर

जेन–जी पुस्ताको आन्दोलनका क्रममा पूर्वमा सवैभन्दा बढी क्षति भएको इटहरीमा प्रहरी कार्यालयसँगै अन्य सरकारी तथा निजी सम्पति क्षति गर्नेको खोजी तिब्र पारिएको  छ । जसमा बुधबार मात्र प्रहरीले पाँच जनालाई पक्राउ गरी मुद्धा चलाएको छ ।  

प्रहरीले इटहरी वडा नं. ३ का ३२ वर्षे विजय लिम्बू, वडा नं. ६ का ४५ वर्षे मदन खत्री, वडा नं. ५ का ४५ वर्षे नै दिपेन्द्र कार्की, वडा नं. ९ का ३० वर्षे आबस कार्की र वडा नं. ४ का ३२ वर्षे सनम कार्की छन् ।  

पक्राउ परेकामध्ये मदन होटल सञ्चालक हुन भने सनम निजी विद्यालयमा शिक्षकको रुपमा कार्यरत छन् । पक्राउ परेका पाँचै जनालाई बुधबार जिल्ला अदालत सुनसरीमा आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय आगजनी र तोडफोडमा मात्र २० जनालाई शंकास्पद सूचीमा राखेर अनुसन्धान भइरहेको छ । इटहरीमा इलाका प्रहरी कार्यालय इटहरीसँगै नेपाल प्रहरी राजर्मा तथा सुरक्षा कार्यालय इटहरी क्षति गर्नुका साथै इलाका प्रहरी कार्यालय पकलीसहित प्रहरी चौकी खनार, प्रहरी चौकी हलगडा,  खनार अस्थायी प्रहरी कार्यालय र अस्थायी प्रहरी कार्यालय इटहरीमा आशिंक आगजनी तथा तोडफोड गरेका थिए ।  

यस्तै, पकलीमा रहेको भाटभटेनी सुपरमार्केट र राजनीतिक दलका कार्यालय पनि तोडफोड गरिएको थियो । यी सवै घटनामा संलग्नको पहिचान गर्ने काम युद्धस्तरमा भइरहेको इटहरी प्रहरी सञ्चार शाखाले जनाएको  छ ।  

यस्तै, आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिका, इटहरीमै रहेको सवारी परीक्षण कार्यालय, राजस्व अनुसन्धान कार्यालय इटहरी, आन्तरिक राजस्व कार्यालय, यातायात सवारी सेवा, यातायात सवारी चालक अनुमति पत्र चालक कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, मेयर हेमकण पौड्ल, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डरीको घरमा पनि आगजनी तथा तोडफोड गर्ने समूहको पहिचान भइरहेकाले गर्दा चाँडै नै ठूलो संख्यामा आन्दोलनमा घुसपैठ गर्ने समूह पक्राउ पर्ने प्रहरीले जनायो ।

जेनजी पुस्ताको आन्दोलनमा आगजनी र तोडफोडबाट इलाका प्रहरी कार्यालय प्रहरी चौकी तरहराको नयाँ भवनमा सरेको थियो ।   इटहरी उपमहानगरपालिकाको अग्रसरतामा इटहरी रंगशाला पछाडि स्थानान्तरण भएर सम्पूर्ण सेवा अब सहज ढंगले दिन थालिएको  छ । इलाका प्रहरी कार्यालय पकली र प्रहरी चौकी खनार घटना भएको दुई सातापछि नै पुर्नस्थापित भएका थिए ।  

इटहरी क्षेत्रमा भौतिक संरचनातर्फ सवैभन्दा बढी क्षति हुनुका साथै दुइ जनाको निधन भएको थियो ।  जेन जी आन्दोलनका क्रममा भदौं २३ गते इटहरी वडा नं. १४ का ४० वर्षे मोहन सरदार र इनरुवा वडा नं. ६ घर भइ इटहरी आफन्तकोमा बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठको मृत्यु भएको थियो ।  

 

प्रकाशित: १० मंसिर २०८२ १६:४३ बुधबार