चितवन प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी र भरतपुरका छुट्टाछुट्टै घटनामा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा खैरहनी नगरपालिका–९ सुतर्नीबाट साउन १५ गते ३० वर्षीय सुरज चौधरी पक्राउ परेका छन्। उनको साथबाट ट्रामाडोल २५० पिस बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, सोही ठाउँका २८ वर्षीय विशाल चौधरी र २६ वर्षीय सुभाष चौधरीलाई प्रहरीले साउन २२ गते पक्राउ गरेको हो। उनीहरूको साथबाट ट्रामाडोल ३४५ पिस र २५० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको छ।
यत्ता भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कबाट पनि साउन २२ गते उदयपुरको मगरखोला घर बताउने ३२ वर्षीय दिनेश परियार पक्राउ परेका थिए। उनको साथबाट डाइजोपाम ३२ पिस, नुफिन ३२ पिस र फेनारगन ३२ पिस गरी ९६ पिस लागूऔषध, ना.६५ प १३३७ नम्बरको स्कुटर र ६५ हजार ७ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
सोही दिन भरतपुर महानगरपालिका–१५ बाट खैरहनी नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–२५ शुक्रनगर बस्ने २२ वर्षीय दिनेश लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनको साथबाट ट्रामाडोल ६० पिस बरामद भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: २४ श्रावण २०८३ १८:५३ आइतबार





