कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ।
चैनपुर नगरपालिका–९ निवासी ६२ वर्षीय शम्सेर बहादुर तामाङलाई प्रहरीले सोमबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि कारागार चलान गरेको हो।
तामाङ २० वर्षअघि अर्थात् २०६१ साल चैत २२ गते भएको भोजपुरका ३६ वर्षीय पर्शुराम विकको हत्यामा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका थिए।
उक्त मुद्दामा तत्कालीन पुनरावेदन अदालत, धनकुटाले २०६९ असार १७ गते फैसला सुनाउँदै तामाङलाई २ वर्ष कैद सजाय तोकेको थियो।
अदालतले दोषी ठहर गरेलगत्तै फरार भएका तामाङ विगत १२ वर्षदेखि प्रहरीको खोजी सूचीमा थिए।
उनलाई इलाका प्रहरी कार्यालय, चैनपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनकै ठेगानाबाट पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, संखुवासभामा पेश गरिएको थियो। अदालतको आदेशबमोजिम उनलाई तोकिएको कैद भुक्तान गर्नका लागि कारागार कार्यालय, खाँदबारी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित: ५ श्रावण २०८२ १८:३९ सोमबार





