नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। विद्युतीय चुरोट (भेप) मार्फत् सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता भएको हो।
अदालतमा महरामाथि ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। उनीमाथि भन्सार ऐन, सुन तस्करीसम्बन्धी अपराध नियन्त्रण ऐन र संगठित अपराध ऐन अन्तर्गत तीनवटा छुट्टाछुट्टै अभियोग लगाइएको छ ।
२०७९ पुसमा बरामद भेपमा ल्याइएको तस्करीको सुन र २०८० साउनमा बरामद ६१ किलो तस्करीको सुनका विषयमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको डिल्ली आचार्यको अध्यक्षतामा आयोग बनाएको थियो। सुनसहितको भेप विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्थामा चोरी भएको विषयमा पनि अनुसन्धान गरेको थियो।
भेपमा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार फ्लाई दुबईको उडान नम्बर एफजेड-०५८७ बाट २०७९ साल पुस १० गते नेपाल आएका चिनियाँ नागरिकले ल्याएको ७३० थान विद्युतीय चुरोट (भेप) अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालयको स्टोरमा राखिएको थियो। पछि उक्त सामानमा सुन लुकाइएको खुलेको थियो।
अनुसन्धानका क्रममा उक्त सुन तस्करीमा संलग्न रहेको आरोपमा रोल्पा जिल्ला लिवाङका कृष्णबहादुर महराका छोरा राहुल महराको संलग्नता देखिएको र सोही प्रकरणमा कृष्णबहादुर महरालाई पनि पक्राउ गरिएको हो।
अनुसन्धानमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन अवैध पैठारी गरी आपराधिक समूह बनाई संगठित रुपमा लाभ लिएको देखिएकोले भन्सार ऐन, २०६४ तथा संगठित अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २७ आश्विन २०८२ १६:४१ सोमबार





