सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नागरिकको शान्ति सुरक्षामा समर्पित हुनु पर्ने बताएका छन ।
संगठनका कुनै पनि कर्मचारी लोभमा नफसी राज्यले दिएको अधिकारलाई प्रयोग गरी ईमान्दारीका साथ अघि बढनु पर्ने उनको भनाइ थियो।
सशस्त्र प्रहरी बल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयको आठौं स्थापना दिवसको अवसरमा चन्द्रौटामा आयोजित कार्यक्रममा उनले भने, ‘सशस्त्र प्रहरी संगठन कुनै लोभमा फस्नु हुदैन, नागरिकको शान्ति सुरक्षामा समर्पित हुनु पर्छ।’
आगामी दिनमा थप जिम्मेवारीसहित काम गरी नागरिकमा विश्वासको वातावरण बनाउनु पर्ने उनको भनाइ छ । सीमा निगरानी, राजस्व संकलन, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले उल्लेखनीय योगदान दिएको उनले बताए ।
महानिरीक्षक अर्यालले सीमा नाकामा हुने तस्करी नियन्त्रण गर्न केवल प्रहरी मात्र सक्षम नहुने भएकाले सबैको सहकार्य अपरिहार्य रहने बताए ।
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले शान्ति सुरक्षा र सिमा सुरक्षामा सशस्त्र प्रहरीले राम्रो काम गरेको बताए ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा उर्वसी आचार्यलाई लागुपदार्थ नियन्त्रण दूतको जिम्मेवारी प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा बाहिनीपति दिपेन्द्र कुवरले प्रदेशभर सशस्त्र प्रहरीद्वारा सञ्चालित गतिविधि र उपलब्धिहरूबारे जानकारी गराएका थिए ।
प्रकाशित: ७ भाद्र २०८२ १८:४० शनिबार





