प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ।
पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।
उनले भने, ‘ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर निज महिला फरार थिइन्। प्रहरीले युएईमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको छ।’
उक्त मुद्दामा संलग्न रही फरार रहेकी निजलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत चैत २१ गते उनविरुद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी निज दाहाललाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ। रासस
प्रकाशित: १० आश्विन २०८२ ०६:२८ शुक्रबार





