२३ माघ २०८२ शुक्रबार
image/svg+xml
अपराध

दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए, सात हजार ५७२ फरार

जेनजी प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन्।  

पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए। कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उनको भनाइ छ।

गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए। भागेका कैदीबन्दीको कुल सङ्ख्या १४ हजार ५५६ रहेको छ भने १५ हजार ५२५ कैदीबन्दी भने नभागी बसेका थिए।

फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको छ। ती कैदीबन्दीहरू २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका थिए। कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ आएका हुन्।

बालसुधार गृहबाट नौ सय ६३ जना भागेका थिए। प्रहरीले हिरासतमा रहेका दुई हजार आरोपीसमेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिएको छ। दश जना कैदीबन्दीको भने मृत्यु भएको छ। रासस

प्रकाशित: ७ आश्विन २०८२ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App