अमेरिकाबाट ‘डकुमेन्ट’ को आवरणमा गाँजा मगाउने दुई भारतीय नागरिकसहित देशका विभिन्न स्थानबाट अवैध लागूऔषध कारोबारमा संलग्न २७ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा चलाएको विशेष अभियानका क्रममा उनीहरूलाई ठूलो परिमाणको लागूऔषध र नगदसहित नियन्त्रणमा लिएको हो।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत डकुमेन्ट भनी पठाइएको १ किलो ३ सय ३८ ग्राम गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा २३ वर्षीय भवरसिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्। उनीहरूलाई मंगलबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी, ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित एक गेष्ट हाउसबाट ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार रूपैयाँ नगदसहित चार जनालाई शनिबार पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिराहाको कल्याणपुर नगरपालिका-२ घर भएका २० वर्षीय भरोष मुखिया, २६ वर्षीय धनिकलाल मुखिया, २६ वर्षीय पवन मुखिया र ३६ वर्षीय महमद सजाबुल शेष छन्।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ स्थित डेराबाट सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-७ का २६ वर्षीय राजिब तामाङ मंगलबार राति पक्राउ परेका छन्।
प्रहरी वृत्त बौद्धको टोलीले उनको कोठाबाट ६ सय ट्याब्लेट ट्रामाडोल, ५ हजार ४ सय ट्याब्लेट नाइट्राभेट, १ सय ६७ एम्पुल डाइजेपाम, ४ सय २३ एम्पुल फेनारगन र ३ सय २४ एम्पुल नोर्फिन बरामद गरेको छ।
यता मोरङको बेलबारी नगरपालिका-६ बाट बुधबार बिहान करिब ३० किलो ९ सय ९० ग्राम गाँजा र ६३ हजार ५ सय ५ रूपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोष्ट सोमबारेको टोलीले प्र.१-०२-०४० प ९१९१ नम्बरको मोटरसाइकलमा सवार धनकुटा चौबिसे गाउँपालिका-७ का ३५ वर्षीय आइत बहादुर राईसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
सुनसरीको देवानगंज गाउँपालिका-२ बाट इलाका प्रहरी कार्यालय देवानगंजले मंगलबार बेलुकी १३ किलो ५ सय २० ग्राम गाँजा र १४ हजार २ सय ६० रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका-६ का २६ वर्षीय लुकमान अंसारी र भारत पूर्णियाका २८ वर्षीय एमलि मझाल छन्। उनीहरू प्र.१-०२-०४६ प १७४३ नम्बरको मोटरसाइकलमा सवार थिए।
सुनसरीकै कोशी गाउँपालिका-१ लौकहीबाट १ हजार २ सय ६० ट्याब्लेट ट्रामाडोल र ४० ट्याब्लेट नाइट्राजेपामसहित उदयपुर चौदण्डीगढीका २६ वर्षीय लाल बहादुर श्रेष्ठ र सुनसरी बराहक्षेत्रका २४ वर्षीय निर्मल श्रेष्ठ पक्राउ परेका छन्।
यस्तै, भोक्राहा नरसिंह गाउँपालिका-८ सिसुवाधरमपुरबाट ३ सय ६० मिलिग्राम ब्राउनसुगरसहित सोही गाउँपालिका-२ का २७ वर्षीय मोहमद आजाद समातिएका छन्।
उदयपुरको चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट मंगलबार साँझ नियन्त्रित लागूऔषधसहित चार जनालाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा स्थानीय २० वर्षीय प्रणय राई, २० वर्षीय रमण राई, १९ वर्षीय रोजित राई र २३ वर्षीय सनम भनिने देवराज परियार छन्। उनीहरूको साथबाट १७ ट्याब्लेट डिकोलिक, ५० ट्याब्लेट स्पास्पेन र ७० ट्याब्लेट ट्रामाडोल बरामद भएको छ।
झापाको बिर्तामोड नगरपालिका-१० कुवापानीटोलबाट २० वर्षीय प्रदिप बर्देवासहित दुई जना ९ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका-८ स्थित सिटी टाउन होटलबाट २ ग्राम ६ सय ५० मिलिग्राम ब्राउनसुगर र ३२ हजार ७ सय १० रूपैयाँसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका बस्ने २० वर्षीय योगेश पुन मगर, १९ वर्षीय दिवश केसी र २१ वर्षीय अर्पन पुन रहेका छन्।
घोराही उपमहानगरपालिका-१७ गैरागाउँबाट पनि ८ सय ६० मिलिग्राम ब्राउनसुगर र रा.२ प ६४७२ नम्बरको मोटरसाइकलसहित ३७ वर्षीय धनिलाल धामी पक्राउ परेका छन्।
बझाङको बुंगल नगरपालिका-४ बिजगडा बजारबाट ३ किलो २ सय ६५ ग्राम चरेससहित ४३ वर्षीय जनक कार्कीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बर्दियाको बारबर्दिया नगरपालिका-७ सोनपुरबाट ८० मिलिग्राम ब्राउनसुगर र १४ हजार ५ सय रूपैयाँसहित २१ वर्षीय रितेश थारू पक्राउ परेका छन्।
थप अनुसन्धानका क्रममा उनले सो लागूऔषध स्थानीय २९ वर्षीय यज्ञ लामिछानेबाट किनेको खुलेपछि यज्ञको घर खानतलासी गर्दा ८ सय १० मिलिग्राम ब्राउनसुगर फेला परेको छ। लामिछाने हाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैविरुद्ध सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाएका छन्।
प्रकाशित: ११ कार्तिक २०८३ १४:५८ बुधबार





