अवैध लागूऔषध सहित विभिन्न स्थानबाट प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वर चोक नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९२ मिलिग्राम र नगद २४ हजार रूपैयाँ सहित भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ घर भएका ३१ वर्षीय अशिम श्रेष्ठ समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित जाजरकोट नलगाड नगरपालिका-७ बस्ने २० वर्षीय सर्जन परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापा, मेचीनगर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन ५३ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २३ वर्षीय सोमनाथ राजवंशी र मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २४ वर्षीय गणेश चौधरी रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ३५६९ नम्बरको सिटीसफारीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ मिलिग्राम सहित कमल गाउँपालिका-४ बस्ने २७ वर्षीय रिङ्वाङ लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङ, विराटनगर महानगरपालिका-१५ सुनसरी आयल्स ट्रेडर्स अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ७० मिलिग्राम सहित भारत बिहार अररिया थाना जोगवनी बस्ने २२ वर्षीय साहिल पाण्डे समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-०५३ प २६७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ मण्ठा पोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्राम ६ सय मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कञ्चनपुर, पुनर्वास नगरपालिका-१० चकमेली बजार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम २६ ट्याब्लेट र स्पास्मो ४ ट्याब्लेट सहित धनगढी उपमहानगरपालिका-३ बडरा बस्ने ३० वर्षीय बिरेन्द्र चौधरी समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
चितवन, भरतपुर महानगरपालिका-२ स्थित होटल राइनसबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३२ एम्पुल, बुप्रेनोर्फिन ३२ एम्पुल, फेनारगन ३२ एम्पुल र नगद ६५ हजार ७ सय रूपैयाँ सहित उदयपुर घर बताउने ३२ वर्षीय दिनेश परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको ना.६५ प १३१७ नम्बरको स्कुटर समेत बरामद गरेको छ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१२ स्थित सुकुमबासी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६१ ट्याब्लेट र भोमिन ७० ट्याब्लेट सहित मकवानपुर घर भएका ३० वर्षीय रामलामा वाईवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी गोन्द्राङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सिराहा, सखुवानान्कारकट्टी गाउँपालिका-४ सिमरास्थित बलान खोला नजिबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९१ किलो २५ ग्राम सहित भगवानपुर गाउँपालिका-४ जमुवा टोल बस्ने ४३ वर्षीय मोहन साहलाई गए राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीलाई देख्नासाथ ५ जना अपरचित व्यक्तिहरूले प्लाष्टिकको ५ वटा बोरा फाली भाग्ने क्रममा उनीहरू मध्ये मोहनलाई प्रहरीले उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। प्रहरीले हाल फरार ४ जनाको खोजी गरिरहेको छ।
पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय राहुल यादव समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी इनर्वा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.११ प ५०२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, इनरूवा नगरपालिका-३ गुद्री लाइनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ७ सय ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २६ वर्षीय मनोज उराव समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी सुसनरी, धरान उपमहानगरपालिका-११ रिटिङ टोल बस्ने कृष्ण राईको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ जोरसखुवा टोल बस्ने २४ वर्षीया स्वास्तिका गुरूङ समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। प्रहरी हाल फरार कृष्णको खोजी गरिरहेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २३ श्रावण २०८३ १८:३२ शनिबार





