१ मंसिर २०८३ मंगलबार
image/svg+xml
अपराध

९ जिल्लाबाट लागूऔषधसहित एकैदिन २० जना पक्राउ

प्रहरीले देशका विभिन्न ९ जिल्लाबाट अवैध लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिकसमेत छन् भने उनीहरूको साथबाट खैरो हेरोइन, ब्राउनसुगर, हजारौँ थान नियन्त्रित औषधि, गाँजा, नगद र ६ वटा मोटरसाइकल बरामद गरिएको छ।

सबैभन्दा बढी परिमाणको खैरो हेरोइन जस्तो देखिने पदार्थ मोरङको सीमा क्षेत्रबाट बरामद भएको छ। रंगेली नगरपालिका-४ चोप्राहा बोर्डरबाट सोमबार बेलुकी २९ ग्राम ४ सय ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित भारत बिहार अररिया बोका मोजदार-२ मुस्लिम टोलका ४५ वर्षीय रघुनाथ पासवानसमेत ३ जनालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसमेतको टोलीले पक्राउ गरेको हो।

त्यस्तै, चितवनको भरतपुर महानगरपालिका-११ मनकामना टोलबाट सोमबार दिउँसो नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय १० ट्याब्लेट, ऐनारगन २ हजार ५ सय ट्याब्लेट र नगद ४९ हजार ७ सय ९० रुपैयाँसहित ४ जना पक्राउ परेका छन्।

अस्थायी प्रहरी पोष्ट भोजाडबाट खटिएको प्रहरीले भरतपुर-२५ का ३० वर्षीय निरज क्षेत्री र २५ वर्षीय अजित विक तथा भरतपुर-११ का ३४ वर्षीय बिजय कुमाल र ३९ वर्षीय बसन्त लामालाई नियन्त्रणमा लिएको हो।

उनीहरूले प्रयोग गरेका प्रदेश ३-०३-००१प ६५५४, बागमती प्रदेश ०२-०२९ प ७४९५ र बा.प्र.०३-००५ प ५३९ नम्बरका मोटरसाइकलसमेत बरामद भएका छन्।

कञ्चनपुरको लालझाडी गाउँपालिका-६ चान्देउबाट सोमबार दिउँसो १९ ग्राम ६ सय ८० मिलिग्राम खैरो हेरोइनसहित भीमदत्त नगरपालिका-१६ का २५ वर्षीय डेविट चौधरी र ३४ वर्षीय नरेन्द्र डगौला पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलालीको टोलीले उनीहरू सवार म.२ प ३३४५ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

सोही दिन दिउँसो लालझाडी गाउँपालिका-६ बाटै ६ ग्राम ६ सय ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित कृष्णपुर नगरपालिका-२ बंकका २६ वर्षीय दिपक कठायत र २३ वर्षीय दिपश्री पाल पक्राउ परेका छन्।

ब्यूरो धनगढीसमेतको प्रहरी टोलीले बा.४८ प ७७७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

झापाको बिर्तामोड नगरपालिका-८ बाट सोमबार साँझ ४ ग्राम २ सय २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सोही ठाउँका ३३ वर्षीय राज कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमनीसमेतको टोलीले पक्राउ गरेको छ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ स्मारक रोडबाट सोमबार बेलुकी २ सय ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद १० हजार रुपैयाँसहित हेटौंडा-९ का ३३ वर्षीय किरण तिवारीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरसमेतको प्रहरीले पक्राउ गरेको छ।

सुनसरीमा सोमबार तीन छुट्टाछुट्टै स्थानबाट ४ जना पक्राउ परेका छन्। कोशी गाउँपालिका-१ लौकहीबाट दिउँसो १ ग्राम ७ सय ७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित इटहरी उपमहानगरपालिका-७ का २२ वर्षीय विज्ञान विष्ट र २६ वर्षीय उपेन्द्र चौधरीलाई इलाका प्रहरी कार्यालय लौकहीले पक्राउ गरेको हो।

यसैगरी, धरान उपमहानगरपालिका-८ गैरीगाउँबाट साँझ ५ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँका २१ वर्षीय अनिश धामीलाई अस्थायी प्रहरी चौकी बरगाछीले पक्राउ गरेको छ।

धरान-८ दुर्गापथबाट बेलुकी ट्रामोल १ सय ८५ ट्याब्लेट, स्पास्पेन १ सय ८५ ट्याब्लेट र नगद ९ हजार ५ सय रुपैयाँसहित धरान-११ बाँधडाँडाका २७ वर्षीय समिर माझीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसमेतको टोलीले नियन्त्रणमा लिएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका-५ रानिजरुवाका २५ वर्षीय टिकाराम विकलाई सोमबार दिउँसो घर तलासीका क्रममा १ ग्राम १ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ।

कैलालीको भजनी नगरपालिका-३ सरदार चोकबाट सोमबार दिउँसो ९ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र बा.४२ प २३४८ नम्बरको मोटरसाइकलसहित लम्कीचुहा नगरपालिका-५ का ३२ वर्षीय प्रकाश शाहीलाई ब्यूरो धनगढीसमेतको प्रहरीले पक्राउ गरेको छ।

ललितपुरको गोदावरी नगरपालिका-८ बागमती पुल नजिकबाट सोमबार दिउँसो ३ सय ४० ग्राम गाँजासहित ललितपुर महानगरपालिका-२१ सानो खोकनाका २९ वर्षीय सजल महर्जनलाई प्रहरी प्रभाग फर्सिडोलको टोलीले पक्राउ गरेको छ।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८३ १५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App