अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं, महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन्। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बगरकोट बस्ने १९ वर्षीय कालेभन्ने नितेश विक समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र स्पास्पेन ४ सय ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले नितेशको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
बर्दिया, गुलरिया गाउँपालिका-९ टेपरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय महेश राणा र ३१ वर्षीय गेद बहादुर खड्का रहेका छन्। इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँके, कोहलपुर नगरपालिका-२ पिपल चौतारा प्रतिक्षालय नजिकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो २० ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका-३ बस्ने २९ वर्षीय बिशाल थापा मगर र कोहलपुर नगरपालिका-१ बस्ने ४८ वर्षीय जगत बहादुर परियार रहेका छन्। इलाका प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
चितवन, भरतपुर महानगरपालिका-३ नौघरे डेरा गरी बस्ने धादिङ घर भएकी ६० वर्षीया ज्ञानु कुमारी श्रेष्ठ र उनकै छोरा ३७ वर्षीय प्रकाश श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ९ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय २० ट्याब्लेट सहित गोदावरी नगरपालिका-१४ लाखेटोल बस्ने २२ वर्षीय राजिब भुजेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
जुम्ला, तातोपानी गाउँपालिका-५ बस्ने २० वर्षीय वरिष्ठ डाँगीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत कक्षमा रहेका थुनुवालाई भेट्न आएका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरिएको हो।
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ दूधपानी खोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ राजवास बस्ने २४ वर्षीय दिपेन्द्र मोची, इटहरी उपमहानगरपालिका-१६ बस्ने २७ वर्षीय दिपेश चौधरी र २८ वर्षीय सरोज चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १-०२-०४४ प ७२२९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम २१ मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय सुजन लिम्बुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प ७९२९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २७ जेष्ठ २०८३ १५:१३ बुधबार





