सेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गतका विभिन्न यार्सापाटन क्षेत्रमा अवैध रूपमा प्रवेश गरेर यार्सागुम्बा संकलन गरिरहेका १५ जना पक्राउ परेका छन् ।
निकुञ्ज कार्यालयका अनुसार नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । टोलीमा निकुञ्ज सुरक्षार्थ खटिएको श्रीसंग्राम शार्दुल गुल्मअन्तर्गत सुरक्षा पोष्ट तोइजुमका सुरक्षाकर्मी सहभागी थिए ।
शुक्रबार बिहान जगदुल्ला गाउँपालिका-१ स्थित रिखे पुलबाट टाङटुङ्गे पाटनतर्फ जाँदै गरेका ९ जनालाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा जगदुल्ला–३ थापागाउँकी ४२ वर्षीया रमिला बिक, १३ वर्षीय सर्वन बिक, जुम्लाको गुठीचौर गाउँपालिका–१ की ३८ वर्षीया कलौती कामी, ३६ वर्षीय रूपलाल बिक, १६ वर्षीय लालप्रसाद बिक, २० वर्षीय प्रकाश बिक, २० वर्षीया फूलमाया बिक, १५ वर्षीय निराजन बिक र १३ वर्षीय सुनिल बिक रहेका छन् ।
यस्तै शुक्रबार साँझ करिब ७ बजे जगदुल्ला गाउँपालिका–१ अन्तर्गत निकुञ्जको कोर क्षेत्र फूलबारी पाटनबाट थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुरीकोटका १५ वर्षीय निशेष रावल तथा जुम्लाको पातारासी गाउँपालिका–५ का १९ वर्षीय प्रवीण बुढा, १७ वर्षीय सन्दीप महतारा, १७ वर्षीय दिनेश बोहरा, ४६ वर्षीय धर्मदत्त महतारा र २६ वर्षीय वीरबहादुर बुढा रहेका छन् ।
निकुञ्ज प्रशासनले पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालयमा राखिएको जनाएको छ । प्रशासनका अनुसार अनुमतिबिना निकुञ्जको कोर क्षेत्रमा प्रवेश गरेर यार्सागुम्बा संकलन गर्नु गैरकानुनी कार्य हो ।
निकुञ्जले पछिल्लो समय यार्सागुम्बा संकलन सिजनमा अवैध गतिविधि बढ्न सक्ने भन्दै निगरानी र नियन्त्रणलाई थप कडा बनाइएको जनाएको छ ।
प्रकाशित: २ जेष्ठ २०८३ १६:३५ शनिबार



-600x400.jpg)

