भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा शनिबार मध्यराति भएको एक क्रूर घटनाले सिंगो गाउँलाई स्तब्ध बनाएको छ।
सधैंजस्तो शान्त रात एकाएक नरसंहारमा परिणत भएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ को धोद्लेखानी बोन्थिताङमा एकै परिवारका ४ जनाको हत्या भएको छ।
शनिबार राति भोजपुर नगरपालिका–२ हेलाउँछका ३० वर्षीय राजेन्द्र राईले उनीहरूको हत्या गरेका हुन्।
उनले आफ्नै ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी, करिब १५ वर्षीया श्रीमती मनिषा गिरी र १० वर्षीय सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक उमेशप्रसाद यादवले नागरिकन्युजलाई जानकारी दिए।
बाँसको छाप्रोले बनेको घरभित्र खाटमा उनीहरूको शव फेला परेको थियो। यादवका अनुसार चार जनाको सामूहिक हत्या गरेपछि राजेन्द्र आफैंले जिल्ला प्रहरी कार्यालय, भोजपुरको प्रहरी कन्ट्रोल १०० मा फोन गरी भनेका थिए, ‘मैले मान्छे मारेँ, मलाई लिन आउनु।’
प्रहरी कन्ट्रोलमा फोन आउनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट टोली खटिएको थियो। यादवका अनुसार राजेन्द्र श्रीमती लिन पाँच दिनअघि ससुराली घर आएका थिए।
राति सुतिरहेको बेला सासू, ससुरा, श्रीमती र सालोले आफूमाथि सामूहिक रूपमा आक्रमण गर्न आएको राजेन्द्रले प्रहरीलाई बताएका छन्।
सोही क्रममा आफूलाई बचाउन प्रतिकार गर्न खोज्दा हत्या भएको राजेन्द्रले प्रहरी समक्ष बयान दिएको प्रहरी निरीक्षक यादवले नागरिकन्युजलाई जानकारी दिए।
गए राति करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएकाले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक यादवले सुनाए।
उनका अनुसार ज्वाइँ राजेन्द्रको पेटमा पनि तीन ठाउँमा धारिलो हतियारले प्रहार भएको घाउ देखिएको छ। साथै, राजेन्द्रको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको यादवले जानकारी दिए।
सुरुमा जिल्ला अस्पताल, भोजपुरमा उपचारका लागि लगिएकामा थप उपचारका लागि अस्पतालले उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर भई उपचार भइरहेको छ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा उनले आफूमाथि परिवारका सबैले आक्रमण गरेपछि प्रतिकार गरेको दाबी गरेका छन्। त्यही कारण प्रहरीलाई फोन गरेको समेत उनले बताए।
रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका अनुसार राजेन्द्रले एक वर्षअघि मात्रै १४ वर्षकी मनिषासँग बिहे गरेका थिए। राजेन्द्र गाउँकै एक फर्निचर कारखानामा मजदुरी गर्दै आएका थिए।
राजेन्द्रको घरको आर्थिक अवस्था कमजोर देखेपछि मनिषाकी आमाले माइतीमै लगेको उनले बताए।
‘बच्चाको १४ वर्षको उमेरमा बिहे भयो, आमा र परिवारले नमानेका त होइनन् तर केटाको आर्थिक अवस्था कमजोर देखेपछि पछिल्लो समय आमाले छोरीलाई लिएर घरमा आएकी थिइन्,’ अध्यक्ष राईले भने।
‘तर श्रीमती लिन आएका उनलाई परिवारले छोरी दिएनन्, त्यही विषयमा शनिबार राति पनि झगडा भएको रहेछ र यस्तो बीभत्स घटना हुन पुग्यो,’ उनले भने।
यस्तै राजेन्द्र र मनिषाबीच अन्तरजातीय बिहे पनि भएकाले हत्या हुनुमा यो पनि एक कारण हुन सक्ने अध्यक्ष राईले अनुमान लगाए। प्रहरीले अहिले यो घटनालाई विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको घटनास्थलमा खटिएका ओख्रे अस्थायी प्रहरी चौकीका प्रहरी निरीक्षक अनिलकुमार साहले नागरिक न्युजलाई जानकारी दिए।
उनका अनुसार मृतक परिवार र राजेन्द्रका बारेमा स्थानीयसँग सोधपुछ भइरहेको छ। घाइते अवस्थामा भेटिएका राजेन्द्रले हत्या गरेको स्वीकार गरेको उनले बताए।
आइतबार चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए।
मृतक गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाडौंमा बस्दै आएका छन्। यसअघि ७ जेठ २०७६ मा पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा दुई परिवारका ९ जनाको हत्या भएको थियो।
त्यस बेला हत्यामा संलग्न व्यक्ति २५ किलोमिटर पर रूखमा झुण्डिरहेको अवस्थामा फेला परेका थिए। यी यस्ता घटना केवल कानुनी अपराध मात्र होइनन्, सामाजिक चेतनाको गहिरो खाडल पनि हुन्।
बाल विवाह, अन्तरजातीय बिहे, पारिवारिक संवादको अभाव र विवाद समाधानमा हिंसात्मक प्रवृत्तिको बढ्दो जोखिमले नेपाली समाज अझै कति असुरक्षित छ भन्ने देखाएको छ।
नेपालको प्रचलित कानुन अनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु गैरकानुनी हो। तथापि, देशका ग्रामीण क्षेत्रमा अझै पनि बाल विवाहका घटना बेलाबेला देखिन्छन्। जसले कानुनी मात्र होइन, मानवीय संकट निम्त्याइरहेका छन्।
प्रकाशित: २२ असार २०८२ १९:१७ आइतबार