१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अपराध

यौन दुर्व्यवहारमा संलग्नसहित पाँचजना सार्वजनिक

यौन दुर्व्यवहारको आरोप लागेका श्रमदातासहित पाँच जनालाई धरान प्रहरी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै। तस्बिरः नागरिक

१३ वर्षीया बालिका यौन दुर्व्यवहारको आरोप लागेका श्रमदातासहित विभिन्न अपराधका घटनामा संलग्न पाँच जनालाई धरान प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

प्रहरीले बालिका यौन दुर्व्यहारको आरोपमा धरान वडा नं. १७ का ४९ वर्षीय खजिन्द्र राई, एक साताअघि धरानमा खुकुरी आतंक मच्चाउने तीन जना र चोरीका घटनामा संलग्न एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

घटनाक्रम अनुसार दुई महिनाअघि धरान वडा नं. १६ को बहुभाषिक पाठशालामा श्रमदान चलिरहेको बेला खजिन्द्रले बालिकालाई यौन हिंसा गरेको परिवार पक्षले बिहीबार उजुरी दिएपछि पक्राउ गरी सार्वजनिक गरिएको हो।

धरानका डिएसपी प्रकाश जवेगुका अनुसार सञ्चार माध्यममा समाचार प्रकाशन/प्रशारण भएता पनि पीडित पक्षले उजुरी ढिलो गरी बिहीबार मात्र दिएकाले तत्काल पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताए। ‘तथ्य खोली सकेको छैन, प्रारम्भिक अनुसन्धानकै क्रममा छौं,’ डिएसपी जवेगुले नागरिकसँग टेलिफोनमा भने।

यसैगरी, असार १२ गते फिल्मी शैलीमा खुकुरी आतंक मच्चाउने समूहका तीन जनालाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले मोटरसाइकल चालक सप्तरी कञ्चनरुप नगरपालिकाका १८ वर्षीय साईमन चौधरी, धरानका २१ वर्षीय पासाङ् शेर्पा र सोही उमेरका प्रशान्त प्रधानलाई सार्वजनिक गरेको हो। घटनामा को २० प ७५६३ नम्बरको मोटरसाइकलमा सवार ३ जनाले वडा नं. २० का २८ वर्षीय समीर राईलाई लखेटेर आक्रमण गरेका थिए।

यस्तै, झन्डै तीन महिनाअघि धरान–१५ की पवित्रा मगरको घर फोडेर नगद, सुनचाँदीका गरगहना चोरी गर्ने गिरोहका मुख्य नाइकेलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।  

घटनामा संलग्न काभ्रेपलान्चोक बेथानचोक–६ भन्ज्याङका ४१ वर्षीय सोनाम लामालाई सार्वजनिक गरेको हो। उनलाई प्रहरीले काठमाडौंको दरबारमार्ग एरियामा लुकीछिपी बसेको सूचनाको आधारमा पक्राउ गरिएको जानकारी दिइएको छ। पक्राउ परेका लामाको समूहले चार लाख ४९ हजार छ सय नगद, दुई तोला सुन र १७ तोला चाँदी चोरी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

पछिल्लो तीन महिनायता भएका ठूला घटनामा संलग्नलाई एकैसाथ सार्वजनिक गर्ने क्रममा धरानका डिएसपी प्रकाश जवेगुले धरानमा आपराधिक गतिविधि निमेट्यान्न पार्ने ढंगले काम गरिरहेको बताए।

प्रकाशित: २० असार २०८२ १९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App