१ श्रावण २०८२ बिहीबार
image/svg+xml
अपराध

पर्सामा श्रीमानद्वारा श्रीमतीको घाँटी थिचेर हत्या

पर्साको जगरनाथपुर गाउँपालिकामा एक पुरुषले आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्। घटनामा संलग्न आरोपमा प्रहरीले मृतकका श्रीमानलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार जगरनाथपुर गाउँपालिका-४ का २३ वर्षीय सफिराजा मियाँले आफ्नी २१ वर्षीया श्रीमती लालबिबी खातुनको हत्या गरेका हुन्। घटना शनिबार मध्यरात करिब पौने १ बजे मृतककै सुत्ने कोठामा भएको प्रहरीले जनाएको छ।

खातुनको शंकास्पद मृत्यु भएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगन्ज पठाइएको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा मृतकका श्रीमान् सफिराजालाई शनिबार नै नियन्त्रणमा लिएको थियो।

प्रारम्भिक अनुसन्धानमा श्रीमान-श्रीमतीबीच लामो समयदेखि मनमुटाव र बोलचाल बन्द रहेको खुलेको छ। लामो समय बाहिर काम गरेर घर फर्किंदा श्रीमतीले राम्रो व्यवहार नगर्ने र वास्ता नगरेको रिसमा हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

पक्राउ परेका सफिराजाविरुद्ध ज्यान सम्बन्धी कसूरमा आइतबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ८ असार २०८२ २०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App