२९ असार २०८२ आइतबार
image/svg+xml
अपराध

कुर्मी हत्या प्रकरण: मुख्य अभियुक्तसहित पाँचै जना पक्राउ

बारा प्रहरीले कलैयामा एक व्यक्तिको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न मुख्य अभियुक्तसहित पाँचै जनालाई पक्राउ गरेको छ।

जेठ २९ गते भएको नन्दु राउत कुर्मीको हत्यामा संलग्न उनीहरूलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, मृतककी नातिनीको विषयमा उत्पन्न भएको सामान्य विवादले उग्र रूप लिँदा हत्या भएको अनुसन्धानबाट खुलेको छ।

मृतककी श्रीमतीले मुख्य अभियुक्त उमेश जैसवालका छोरालाई थप्पड हानेपछि त्यसैको बदला लिन जैसवाल परिवारले कुर्मीमाथि सांघातिक आक्रमण गरेको थियो।

गत जेठ २९ गते साँझ कलैया उपमहानगरपालिका-१४ बघवनस्थित एक राइस मिल अगाडि काम गरिरहेका ५० वर्षीय कुर्मीमाथि उमेश जैसवाल, उनकी श्रीमती, छोराहरू र अन्य एक व्यक्तिले सामूहिक कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका कुर्मीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।

प्रहरीले घटनालगत्तै अनुसन्धान थालेर विभिन्न मितिमा आरोपीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) विजयराज पण्डितका अनुसार, घटनामा संलग्न दिगम्बर प्रसाद जैसवाललाई जेठ ३० गते पक्राउ गरिएको थियो।

फरार रहेका अन्य आरोपीहरूको खोजी गर्ने क्रममा असार ४ गते राति उमेशकी श्रीमती रन्जु देवीलाई लुकिछिपी बसेको अवस्थामा तथा उनका दुई छोरा सुमित र सुजित जैसवाललाई पर्साको वीरगन्जबाट पक्राउ गरिएको थियो।

हत्याका मुख्य अभियुक्त मानिएका उमेश जैसवाललाई भने प्रहरीले असार ५ गते राति विश्रामपुर गाउँपालिकाबाट पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ असार २०८२ १६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App