लागु औषध सेवन गरी यात्रु तथा सर्वसाधारणलाई दुःख हैरानी दिने ८ जना सुमो चालक तथा कर्मचारीलाई प्रहरीले काठमाडौंको बल्खुबाट पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सुमो काउन्टरमा कार्यरत उनीहरुलाई जनगुनासोको आधारमा बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी, प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार बल्खु सुमो काउन्टरमा कार्यरत केही कर्मचारी र चालकले लागु औषध सेवन गरी यात्रु तथा बाटोमा हिँड्ने मानिसलाई दुःख दिने गरेको गुनासो बढेपछि प्रहरीले विशेष अप्रेसन चलाएको थियो।
सोही क्रममा प्रहरीले शङ्कास्पद १० जनालाई नियन्त्रणमा लिई लागु औषध सेवन गरे/नगरेको जाँच गरेको थियो। जाँचका क्रममा ८ जनाले लागु औषध सेवन गरेको रिपोर्ट आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको एसपी बोहराले जनाए।
पक्राउ पर्नेहरूमा उदयपुरका २२ वर्षीय प्रदीप वि.क. र १८ वर्षीय विराज कार्की, बाराका २४ वर्षीय सन्तोष नेपाल, २० वर्षीय धीरज जैसवाल र २० वर्षीय अनुराग कुमार, तनहुँका २९ वर्षीय राम गुरुङ, झापाका ३० वर्षीय निलेश संग्रौला र काभ्रेपलाञ्चोकका ३५ वर्षीय गोमन तामाङ रहेका छन्।
उनीहरुविरुद्ध लागु औषध सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ असार २०८२ १९:२४ बिहीबार