नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल टिकटकमा तथ्यहीन र भ्रामक सामग्री प्रसारण गरी जातीय तथा साम्प्रदायिक भावनामा खलल पुर्याउने एक युवतीलाई पक्राउ गरेको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुर बस्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई भक्तपुरबाट पक्राउ गरिएको हो।
साइबर ब्यूरोका अनुसार बस्नेतले टिकटकमा नियमित र नियोजित रूपमा प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी आधारहीन र भ्रामक विषयवस्तु प्रसारण गर्दै आएकी थिइन्। यस्ता सामग्रीले व्यक्ति, संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाउनुका साथै चरित्र हत्या गरेको उजुरीका आधारमा प्राविधिक विश्लेषण र अनुसन्धान गरिएको थियो।
अनुसन्धानबाट बस्नेतको संलग्नता पुष्टि भएपछि उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
हाल उनलाई जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ। साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीले सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक सामग्री फैलाउने कार्यविरुद्ध प्रहरीको निगरानी र कारबाही जारी रहने बताए।
.png)
प्रकाशित: १ असार २०८२ १८:३१ आइतबार