३० असार २०८२ सोमबार
image/svg+xml
अपराध

बालिकामाथि दुर्व्यवहारको प्रयास, युवक प्रहरीको नियन्त्रणमा

खोटाङका एक युवकलाई १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। दिक्तेलस्थित ‘नाईन्टी नाईन’ पसलमा सामान किन्न आएकी बालिकालाई ‘चुम्बन’ गर्न खोज्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका २३ वर्षीय धनीराम कटवाल पक्राउ परेका हुन्।  

मानव अधिकार चोकमा पसल सञ्चालन गर्दै आएका कटवालले ब्रासलेट किन्न आएकी बालिकालाई पसलको कोठाभित्र लगेर यौन प्रस्ताव र दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। बिहीबार साँझ भएको घटनापछि उनलाई पसलबाटै पक्राउ गरिएको थियो। प्रहरीले बाल यौन दुर्व्यवहारको कसुरमा जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर कारबाही अघि बढाएको छ।  

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतीक बिष्टका अनुसार पीडितका आफन्तको किटानी जाहेरीका आधारमा कारबाही सुरु गरिएको हो। विद्यालय छुट्टीपछि साथीसँग घर फर्कने क्रममा ब्रासलेट किन्न पसल पुगेकी बालिकालाई कटवालले दुर्व्यवहार गरेपछि उनी रुँदै भागेकी थिइन्। कटवालले साथीलाई बाहिर बस्न लगाएर बालिकालाई मात्र भित्र बोलाई ‘एक पटक किस गर्न दियौ भने ब्रासलेट सित्तैमा दिन्छु’ भन्दै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ।  

रुँदै बाहिर निस्केकी बालिकालाई देखेर स्थानीयले सोधपुछ गर्दा घटनाबारे जानकारी भएको थियो। त्यसपछि प्रहरीलाई खबर गरिएको हो। बालिका साथीको जन्मदिनमा उपहार दिन ब्रासलेट किन्न पसल गएकी थिइन्। प्रहरीका अनुसार कटवालले पसलको सीसी क्यामेरा अन्यत्र मोडेर बालिकालाई भित्र बोलाई दुर्व्यवहार गरेको देखिएको छ।  

कटवालले घटना स्वीकारेका छन्। पीडित परिवारले दोषीमाथि कडा कारबाहीको माग गरेको छ। उनीहरूले साथी सँगै नभएको भए अप्रिय घटना हुन सक्थ्यो भन्दै छोरीको ज्यान जोगिएको बताएका छन्।

प्रकाशित: ३० जेष्ठ २०८२ १९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App