लमजुङको मर्स्याङ्दी गाउँपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
मर्स्याङ्दी गाउँपालिका-४, कालाघिरिङ निवासी ५७ वर्षीय नरबहादुर गुरुङको हत्यामा संलग्न भएको अभियोगमा उनका २३ वर्षीय जेठा छोरा लु बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, मृतक नरबहादुर गुरुङ मंगलबार बिहान करिब ६:०० बजे ठूलोढुङ्गास्थित आफ्नै गाईगोठमा मृत अवस्थामा फेला परेका थिए।

उनको टाउको, अनुहार लगायत शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको र घटनास्थल रगताम्य रहेको थियो। पेटमा समेत निलडामहरू देखिएको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक राज किशोर साह तेलीको कमाण्डमा खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा घटनास्थलबाट रगत लागेको चिर्पट दाउरा, काठको लौरो र बन्चरो बरामद भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान तथा गोप्य सूचनाका आधारमा प्रहरीले मृतकका छोरा लु बहादुर गुरुङले नै उक्त हत्या गरेको निष्कर्ष निकालेको हो।

पक्राउ परेका लु बहादुरले मादक पदार्थ सेवन गरी आवेगमा आएर बाबुलाई चिर्पट दाउरा तथा बन्चरोले प्रहार गरी हत्या गरेको प्रारम्भिक सोधपुछमा खुल्न आएको प्रहरी निरीक्षक साह तेलीले बताए।
निज लु बहादुर गुरुङलाई बुधबार जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
प्रकाशित: ३१ वैशाख २०८२ २०:४२ बुधबार