इलाममा ज्वाईंले धारिलो हतियार प्रहार गरी जेठी सासू (पत्नीकी दिदी) को हत्या गरेका छन्। माई नगरपालिका-४, सिञ्जालीटारका ४२ वर्षे शान्तिराम दुलालले त्यही ठेगानाकी ५२ वर्षीया भूमिका चापागाईंको हत्या गरेका हुन्।
साँझ ७ बजेतिर टाउकामा हतियार प्रहार गरिएकामा राति १०:२० बजेतिर उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते चापागाईंको उपचार माई नगरमा हुन नसकेपछि झापाको बिएन्डसी अस्पताल लगिएकामा अस्पतालमै उनको मृत्यु भएको हो।
शान्तिराम र उनकी श्रीमतीको मानाचामल मुद्दा चलिरहेका बेला भूमिकासँग शान्तिरामको अदालत परिसरमा विवाद भएको स्थानीयले जनाएका छन्। विवादपछि भूमिकाले शान्तिरामविरुद्ध अवहेलना मुद्दासमेत दायर गरेकी थिइन्।
शान्तिरामलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १३ वैशाख २०८२ ०७:४० शनिबार





