४ माघ २०८२ आइतबार
image/svg+xml
अपराध

दुई नाल बन्दुकसहित युवक पक्राउ

उदयपुरमा दुई नाल बन्दुकसहित एक युवक पक्राउ परेका छन्। बिहीबार साँझ मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डमा रौतामाई ७ को सङ्गमचोकमा सवारी जाँचका क्रममा उनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाटबाट नेपालटारतर्फ जाँदै गरेको प्र ३–०२–०१३ प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उदयपुरगढी ७ का २६ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन्। मगरले मोटरसाइकलमा लुकाएर राखेको एक नाल लोड भएको र अर्को बट र नाल छुट्टाछुट्टै अवस्थाको बन्दुक बरामद भएको छ।

सङ्गमचोकको अस्थायी प्रहरी पोष्टबाट नियन्त्रणमा लिइएका मगरलाई बन्दुकसहित जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याएर अनुसन्धान सुरु गरिएको छ। उनलाई अवैध हतियारसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरी सूचना अधिकारी केदारमान दोङले बताए।

सङ्गमचोक तीन स्थानीय तहको सीमाना हो। मदन भण्डारी लोकमार्गअन्तर्गत पूर्वमा त्रियुगा नगरपालिका ७, उत्तरमा रौतामाई गाउँपालिका ७ र पश्चिममा उदयपुरगढी गाउँपालिका ७ पर्ने यो त्रिबेणीस्थल लिमचुङबुङ गाउँपालिकातर्फ जाने नाका पनि हो। रौतामाईको प्रमुख व्यापारिक केन्द्र मुर्कुची बजारनजिकै रहेको यो ठाउँलाई ‘७७७ चोक’ को रूपमा पनि चिनिन्छ।

प्रकाशित: १२ वैशाख २०८२ १६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App